पत्रकार कुट्ने असई विरुद्ध उजुरी दर्ता गरी कारवाही गर्न प्रहरीलाई सरकारी वकिलको निर्देशन

राजविराज– सप्तरीका पत्रकार तथा अधिकारकर्मी मनोहर पोखरेललाई कुटपिट गर्ने असई राजेश्वर महतो विरुद्ध उजुरी दर्ता गरी आवश्यक कारवाही अघि वढाउन जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको छ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५(२) बमोजिम जिल्ला प्रहरी कार्यालय सप्तरीले दर्ता गर्न इन्कार गरेको उजुरी आवश्यक कारवाहीका लागि पत्रसहित सक्कल उजुरी पठाउने जिल्ला न्यायाधिवक्ता गोकुल बहादुर निरौलाले बताए।

संहिताको दफा ५ (१) मा सम्बन्धित प्रहरी कार्यालयले जाहेरी दरखास्त दर्ता नगरेमा सरकारी वकिलको कार्यालय वा माथिल्लो तहको कार्यालयमा उजुरी गर्न सकिने कानुनी व्यवस्था छ । यस्तै दफा ५ (३) मा जाहेरी दरखास्त वा सूचनालाई सम्बन्धित प्रहरी कार्यालयले दफा ४ को उपदफा(३) बमोजिम दर्ता गरी कारवाही गर्नु पर्ने ब्यवस्था छ।

सूचना तथा समाचार संकलन गरेर फर्किदै गरेका बेला पोखरेललाई जिल्ला प्रहरी कार्यालयको परिसरमा कुटपिट गर्ने असई ४० वर्षीय महतोमाथि कारवाही गर्न माँग गर्दै जिल्ला प्रहरी कार्यालय पुगे पनि एसपी नरेन्द्रकुमार कार्कीले उजुरी दर्ता गर्न अस्वीकार गरेका थिए।

त्यसपछि पोखरेल जिल्ला सरकारी वकिलको कार्यालय पुगेका पोखरेलले कुटपिट घटनाको साढे एक महिना बितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय सप्तरीले उजुरी दर्ता गर्न वा दरपिठ गर्न समेत नमानेपछि विकल्प खोज्नु परेको वताए।

कुटपिट गरेको स्वयम् आरोपितले साउन १५ गते नै स्विकार गरेका छन्। प्रहरी कार्यालयमा रहेको सीसीटिभीमा समेत रहेको र पोखरेलमाथि दुव्र्यवहार÷हातपातमा संलग्न भन्दै असई महतोलाई साउन १६ गतेदेखि नै प्रहरीले निलम्बन गरेको अवस्थामा प्रहरीले आन्तरिक कारवाहीको निर्णय नगरेपछि वकिल कार्यालय जानु परेको महासंघ सप्तरीका निवर्तमान अध्यक्ष जितेन्द्र खडगाले बताए।

पीडितले न्यायका लागि प्रचलित कानून बमोजिम दिन पाउने उजुरी समेत प्रहरीले नलिएको पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य अवधेश झाले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट