लोसपाको पदाधिकारी टोलीमा शीर्ष तीन नेताका परिवार कोही छुटेनन्
राजविराज– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष तीन शीर्ष नेताका परिवारका सदस्य समेटेर पदाधिकारीहरुको जम्बो टोली तयार गरेका छन्।
पदाधिकारीको समुहमा अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र शरतसिंह भण्डारीका श्रीमती, सम्धी–सम्धिनी, छोरी,ज्वाइँ र भतिजा समेत छन्। यी सवैलाई समेट्दा ६३ जनाको जम्बो पदाधिकारी टोली तयार भएको छ।
पार्टीको कार्यकारिणी बैठकले केन्द्रीय समिति विस्तार गर्ने जिम्मा ठाकुरलाई दिएको थियो। सोही अनुसार उनले केन्द्रिय सदस्य र पदाधिकारी मनोनयन गरेका हुन।
उनले राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झा वरिष्ठ नेता तथा सर्वेन्द्रनाथ शुक्लालाई वरिष्ठ सहअध्यक्ष बनाएका छन्। ठाकुरका सम्धी तथा पूर्वप्रदेश प्रमुख उमाकान्त झा, जितेन्द्र सोनल, लक्ष्मणलाल कर्ण, अकवार अहमद साह, निर्जला राउत र प्रदीप नारायण यादवलाई वरिष्ठ उपाध्यक्ष बनाएका छन्।
सम्धिनी तथा समानुपातिकतर्फ मधेशी कोटामा पहिलो नम्बरमा रहेकी इन्द्रा झालाई उपाध्यक्ष, छोरी मीनाक्षी झालाई केन्द्रीय सदस्य, सम्धी उमाकान्त झाका भतिजो सञ्जिव झालाई सचिव, वरिष्ठ नेता महतोका भतिजा उपेन्द्र महतोलाई महासचिव, महतोका ज्वाइँ अनिल महासेठ महासचिव, वरिष्ठ नेता भण्डारीकी श्रीमती निर्जला राउतलाई वरिष्ठ उपाध्यक्ष र उनकी छोरी सृष्टि सिंह भण्डारीलाई सचिव बनाएका छन्।