चन्द्रयान–३ को विक्रम ल्यान्डरसँग सम्पर्क विच्छेद, मरेको हो ब्युतिने आस ?
काठमाण्डौं– भारतीय अन्तरिक्ष वैज्ञानिकहरुले चन्द्रयान–३ को विक्रम ल्यान्डरसँग सम्पर्क विच्छेद भएको जानकारी दिएका छन् । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले ल्याण्डर र रोभरसँग सम्पर्क विच्छेद भएको जनाएको हो।
चन्द्रमामा लामो रात भएकाले सौर्य ऊर्जाका अभावमा सम्पर्क विच्छेद भएको आकलन गरिएको छ । तर, वैज्ञानिकहरु उक्त ल्याण्डर पुनःसञ्चालनमा आउने आशमा छन् । इसरोले सामाजिक सञ्जाल एक्समार्फत् विक्रम ल्याण्डर र प्रज्ञान रोभरसँगको सम्पर्क प्रयास जारी राखिएको जनाएको छ ।
चन्द्रमामा एक दिन र एक रात दुवै पृथ्वीका १४ दिन बराबर हुन्छन्। भारतीय अन्तरिक्ष निकाय इसरोले शुक्रवार उक्त ल्यान्डर र रोभरसँग नयाँ चन्द्रदिन सुरु भएसँगै सम्पर्क स्थापित गर्ने प्रयास गरिएको तर कुनै सङ्केत प्राप्त नभएको जनाएको थियो।
प्रज्ञान रोभरलाई बोकेको विक्रम ल्यान्डरले गत अगस्टमा यसअघि अन्वेषण नगरिएको चन्द्रमाको दक्षिणी ध्रुवनजिकै अवतरण गरेको थियो। तिनले दुई सातामा विश्लेषणका लागि पृथ्वीमा पठाउन डेटा र तस्बिरहरू सङ्कलन गरेका थिए। त्यसपछि तिनलाई चन्द्रमा रात पर्नुअघि ‘स्लीप मोड’मा निष्क्रिय बनाएर राखिएको थियो।
इसरोले यही सेप्टेम्बर २२ आसपास चन्द्रमामा अर्को चन्द्रदिनको आरम्भ हुँदा ब्याट्रीहरू रिचार्ज हुने र ल्यान्डर ‘बिउँझिने’ आशा गरिएको बताएको थियो। तर, अहिलेसम्म सम्पर्क स्थापित हुन नसकेको जनाईएको छ।
चन्द्रमाको दक्षिण ध्रुवनजिकैको तापक्रम रातमा माइनस २०० डिग्री सेन्टिग्रेडदेखि माइनस २५० डिग्री सेन्टिग्रेड पुग्ने बताईएको छ। ल्यान्डर र रोभरका कैयौँ अवयवहरू चन्द्रको बरफ जम्ने तापक्रमबाट काम नगर्ने भएका हुनसक्ने अनुमान गरिएको छ।
भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ लाई सफलतापूर्वक अवतरण गराउँदै कीर्तिमान बनाएको थियो। चन्द्रमाको सतहमा यो नै भारतको पहिलो नियन्त्रित अवतरण हो।