टीम छोडेको घोषणा गरेका सन्दीप लामिछानेको यसरी हुँदैछ कमब्याक, टी–२० विश्वकप क्वालिफायर खेल्ने

काठमाडौं– नेपाली राष्ट्रिय टीमबाट नाम फिर्ता लिएका स्टार स्पिनर सन्दीप लामिछानेले टी–२० विश्वकप छनोट प्रतियोगिता भने खेल्ने भएका छन्। जारी त्रिकोणात्मक टी–२० सिरिजमा सहभागि नभएका लामिछानेले महत्वपूर्ण प्रतियोगिता भने खेल्न तयार भएका हुन।

अदालतमा जारी बलात्कार मुद्दाको फैसलामा ढिलाइ हुँदा तनावमा रहेका सन्दीपले त्रिकोणात्मक श्रृंखला नखेल्ने निर्णय लिएका थिए । प्रतियोगिताअघि उनले परिवारसँग समय बिताउन चाहेको भन्दै राष्ट्रिय टीमबाट नाम फिर्ता लिएको घोषणा गरेका थिए ।

टीमबाट अलग भएपछि धार्मिक स्थलसहित पारिवारिक भेटघाटमा रहेका उनी अहिले काठमाडौं फर्किएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले अव घोषणा गर्ने विश्वकप छनोट टोलीमा सम्भवतः सन्दीपले कमब्याक गर्ने जनाईएको छ।

भोलि नेपालले यूएईसँग त्रिकोणात्मक सिरिजको फाइनल खेल्दैछ । त्यसलगत्तै क्यानले क्वालिफायरका लागि टीम घोषणा गर्ने बुझिएको छ । सन्दीप अहिले क्यानको सम्पर्कमा नै छन् ।

काठमाडौं जिल्ला अदालतमा विचाराधीन उनको मुद्दा कार्तिक २३ गते पेशीमा चढ्ने जनाईएको छ। त्योभन्दा अगाडि नै विश्वकप छनोट प्रतियोगिता सम्पन्न भइसक्ने भएकाले सन्दीपको खेल प्रभावित हुनेछैन ।

टी–२० विश्वकपको आगामी संस्करण २०२४ को जूनमा अमेरिका र वेस्ट इन्डिजमा हुने भएको छ । त्यसका लागि एसिया क्षेत्रको छनोट प्रतियोगिता नेपालमा यही अक्टोबर ३० (सोमबार)बाट हुँदैछ । मूलपानी र कीर्तिपुर मैदानमा हुने खेलहरुमा नेपालसहित आठ वटा देशले भाग लिनेछन् । ८ टीमलाई दुई समूहमा राखेर खेलाइने छ भने दुवै समूहका शीर्ष दुई टीम सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा पुग्ने दुई टीम विश्वकपका लागि छनोट हुनेछन् ।

नेपालको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया रहेका छन् । समूह ‘बी’मा यूएई, हङकङ, कुवेत र बहराइन रहेका छन् । समूह ‘ए’बाट नेपाल र ओमान तथा समूह ‘बी’बाट यूएई र हङकङ सेमिफाइनलका दावेदार हुन् । नेपाल उपाधिको दावेदारसमेत हो । नेपालले आफ्ना सबै खेलहरु कीर्तिपुर मैदानमा खेल्नेछ । नेपालको पहिलो म्याच सोमबार सिंगापुरविरुद्ध छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट