वीपी प्रतिष्ठानमा उपचारमा चरम लापर्वाही, भेद खुलेपछि बिरामीको निशुल्क उपचार गर्ने सम्झौता

धरान– सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको उपचारमा चरम लापर्वाही हुने गरेको पाईएको छ।

ज्वरो आएपछि अस्पतालको इमर्जेन्सीमा भर्ना भएका धनकुटा पाख्रीबास नगरपालिका–२ माथिल्लो सान्नेका ४३ वर्षीय महेन्द्र तामाङको उपचारमा लापर्वाही हुँदा झण्डै ज्यान गएको छ। चिकित्सकले अर्कै ग्रुपको ब्लड चढाई दिएपछि तामाङ झनै सिकिस्त भएका छन्।

उपचारका क्रममा बी पोजेटिभ रगत चढाउनुपर्नेमा ए पोजेटिभ रगत चढाउँदा भाईको अवस्था जटिल बनेको महेन्द्रका दाजु किरणले बताए। चिकित्सकले बिरामीलाई तत्काल ‘ए’ पोजेटिभ रगत जरुरत परेको भनेपछि आफुहरुले पनि सोही अनुसार ब्यवस्थापन गरेको किरणको भनाई छ।

‘दुई/तीन पाउन्ड रगत चढाएपछि बोल्दै गरेकोभाइ एक्कासि बेहोस भयो’ उनले भने, ‘पछि प्रतिष्ठानमै पुनः ब्लड ग्रुप परीक्षण गर्दा ‘बी’ पोजेटिभ रिपोर्ट आयो।’ विश्वास नलागेर प्रतिष्ठान बाहिरका क्लिनिकमा गएर पनि आफुले ब्लड चेक गराएको उनले वताए।

ज्वरो आएर विरामी परेका महेन्द्र चिकित्सकको लापारबाहीले २२ असोजदेखि २४ दिनसम्म आइसियूमा मरे जस्तै भएर बाँकीको किरणको भनाई छ। ‘अहिले पनि राम्रोसँग होस आएको छैन।’– उनले भने।

अस्पतालका उपनिर्देशक डा. इन्द्रकुमार लिम्बूले भने बिरामीलाई ‘प्लेटलेट्स’ लगाएकोले रक्त समूहले फरक नपर्ने दाबी गरे । तर, प्रतिष्ठानले मङ्गलबार विरामीका आफन्तसँग बिरामीलाई प्रतिष्ठानमा लाग्ने खर्च छुट गरिदिने, बिरामीलाई समस्या भई पुनः आइसियूमा राख्ने अवस्था आएमा प्रतिष्ठानले व्यवस्थापन गर्ने र बिरामीको मृत्यु भएमा उनकी श्रीमतीलाई प्रतिष्ठानमा रोजगारीको व्यवस्थापन गर्ने सम्झौता गरे।

तर, यो सम्झौता मौखिक मात्रै भएको जनाईएको छ। उपनिर्देशक डा. लिम्बूले चिकित्सकको लापरबाहीले बिरामीमा समस्या नआएको र त्यसका कारणले भन्दा पनि बिरामीको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च छुट गरिदिने सहमति भएको दाबी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट