नेविसंघका तत्कालिन ६ जना नेतालाई ज्यान मार्न खोजेको कसुरमा २–२ वर्ष कैद

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने तत्कालिन नेविसंघका ६ जना नेता÷कार्यकर्तालाई जिल्ला अदालत काठमाडौंले २ वर्ष कैदको सजाय सुनाएको छ। उनीहरुलाई ज्यान मार्न खोजेको अभियोगमा दोषी ठहर गर्दै यस्तो सजाय सुनाईएको हो।
न्यायाधीश विनोद खतिवडाको इजलासले नेपाल विद्यार्थी संघ त्रिवि इकाइका तत्कालिन सभापति हरिप्रसाद आचार्य, सचिव योगेन्द्र रावल, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगरलाई उपप्राध्यापक चलाउनेको ज्यान मार्न खोजेको आरोपमा दोषी ठहर गरेको हो ।
उनीहरुबाट पीडितलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश समेत भएको छ। ओझाले भने सफाइ पाएका छन्। आचार्य हाल अमेरिकामा छन् भने अरु आरोपितहरुले अदालतको तारेख गुजारेर बसेका थिए।
२० असोज ०७७ मा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि आचार्य र संघका सचिव योगेन्द्र रावल नेतृत्वको समूहले सांघातिक आक्रमण गरेको थियो। चलाउनेको टाउको, छाती, घाँटी, तिघ्रामा चोट लागेको थियो। उपचारका क्रममा उनको अपरेसन समेत गर्नुपरेको थियो। उनी एक महिनाभन्दा बढी अस्पतालमा उपचार गराएर घर फर्किएका थिए।
प्रहरीले आचार्य, रावल लगायतमाथि ज्यान मार्ने उद्योग गरेको आरोपमा मुद्दा चलाएपनि उनीहरु धरौटीमा छुटेका थिए। उक्त आदेश विरुद्ध चलाउनेले उच्च अदालत पाटनमा रिट दिएका थिए। उच्च अदालत पाटनले पनि पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो।
ज्यान मार्ने उद्योगको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधिन रहेको अवस्थामा गृहमन्त्रालयको प्रस्तावमा सरकारले आरोपितहरुविरुद्धको मुद्दा फिर्ता लिने निर्णय लिएको थियो। मुद्दा फिर्ता लिने निर्णय विरुद्ध उपप्राध्यापक प्रेम चलाउने सर्वोच्च अदालत गए। सर्वोच्च अदालतले मुद्दा फिर्ता लिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश दिएको थियो।
अन्तरिम आदेशपछि जिल्ला अदालतले आरोपितहरु विरुद्धको मुद्दा अघि बढाएको थियो।