हत्या आरोपमा पक्राउ परेका यादव धरौटीमा रिहा भएपछि प्रदेश सभाको निलम्बन फुकुवा

राजविराज– हत्या आरोपमा पक्राउ परेर पुर्पक्षका लागि जेल पुगेपछि निलम्बनमा परेका मधेश प्रदेशसभा सदस्य अनिरुद्ध कुमार सिंह यादवको निलम्बन फुकुवा भएको छ।

ज्यान मार्ने उद्योगमा गत १८ भदौमा पक्राउ परेका यादवलाई जिल्ला अदालत सप्तरीले पूर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसपछि प्रदेशसभाले उनलाई निलम्बन गरेको थियो। तर, जिल्ला अदालतको आदेश खारेज गर्दै उच्च अदालत जनकपुरको राजविराज इजलासले उनलाई २३ कात्तिकमा धरौटीमा छाड्न आदेश दिएको दियो।

उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र पूर्णप्रसाद राजवंशीको इजलासले जिल्ला अदालत सप्तरीको १९ भदौको आदेश बदर गर्दै १ लाख २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

थुनामुक्त भएपछि उनले २३ कात्तिकमा प्रदेशसभा सचिवालयमा निलम्बन फुकुवाका लागि निवेदन दिएका थिए।, सोही निवेदनअनुसार यादवको निलम्बन फुकुवा गरिएको प्रदेश सभामुख रामचन्द्र मण्डलले सोमबार दिउँसो बसेको प्रदेशसभा बैठकमा जानकारी गराएका छन्।

यादवलाई १६ वर्षअघिको एक हत्या मुद्दामा प्रहरीले १८ भदौ ०८० मा पक्राउ गरेको थियो। माओवादी नेता दीपु भनिने गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६४ सालदेखि चलेको मुद्दामा यादवसमेत आरोपी थिए। उनीमाथिको यो मुद्दा त्यतिबेलादेखि नै मुल्तबीमा रहेको थियो।

९ असार ०६४ मा तत्कालीन खोक्सर प्रवाहा गाविस १ का ३२ वर्षीय दीपु भनिने गोविन्द चौधरीको हत्या भएको थियो। मृतककी दिदी रीताकुमारी चौधरीले १४ असार ०६४ मा यादवसहित ९ जनाको नाममा किटानी जाहेरी दिएकी थिइन्। त्यतिवेला देखि नै यादव फरार सूचीमा थिए।

जनता समाजवादी पार्टीमा रहेका यादव प्रहरीको फरार सूचिमा रहेकै बेला गत निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४(२) बाट स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए।

सम्बन्धित खबर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट