अस्पतालले मृत्यु पुष्टि गरी १५ घण्टा शवगृहमा राखिएका ब्यक्ति घाट लाँन खोज्दा जीवितै!

विराटनगर– विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु भएको घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि लगिएका एक युवक जिवितै भएको पाईएको छ।

मृत्यु प्रमाण पत्रसहित अस्पतालले विदा गरेका सुनसरीको इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहर जिवितै रहेको खुलेको हो। दाहसंस्कारका लागि घाटमा लैजान लाग्दा उनी जीवितै भएको खुलेको थियो।

स्थानीयका अनुसार लेबरको काम गर्ने प्रताप शनिबार बिहान गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोश भएका थिए। उनलाई तत्कालै उपचारका इनरुवा अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नहुने भन्दै विराटनगरमा रहेको कोशी अस्पताल रिफर गरियो।

टाउकोको तत्काल एमआरआई गर्नुपर्ने चिकित्सकले सुझाव दिएपछि उनलाई मेट्रो न्युरो अस्पतालमा भर्ना गरिएको थियो। शनिबार दिउँसो अस्पतालमा भर्ना गरिएका सदाको उपचारका क्रममा राति मृत्यु भएको अस्पतालले घोषणा गरेको उनकी श्रीमती सीता सदाले बताइन्।

उपचारका क्रममा लागेको ५० हजार रुपैयाँ तिरेर शव लैजान भन्दै अस्पतालले उनको शव शवगृहमा राखिदियो। छिमेकी तथा आफन्तले आइतबार बिहानदेखि चन्दा रकम जुटाई अस्पताललाई तिरेर करिव १५ घण्टापछि उनको शव दाहसंस्कारका लागि इनरुवा पुर्याए।

सदाको दाहसंस्कारका लागि उनीहरूको जातीय संस्कार र परम्परा अनुसार सबै तयार गरी मलामीसमेत जुटेर घाट लैजान लाग्दा जीवितै पाईएको स्थानीय पहल कटुवालले जानकारी दिए। यो घट्नापछि घरपरिवार खुसी भएका छन् भने देख्न सुन्नेहरु आश्चर्यमा परेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट