बेहुलाको गाडीले ठक्कर दिँदा जन्तीको मृत्यु

काठमाडौं– प्युठानको ऐरावती गाउँपालिका–२ बढौलामा बेहुला चढेको गाडीले ठक्कर दिँदा एकजना जन्तीको मृत्यु भएको छ।
लु ३ च ६८४७ नम्बरको स्कारपिओ गाडीको ठक्करबाट जन्ति हिँडेका मल्लरानी गाउँपालिका–३ चोरपानीका ५२ वर्षीय दामोदर परियारको मृत्यु भएको हो।
अघि–अघि जन्ती पछि–पछि बेहुला बोकेको गाडी हिँडिरहेको बेला अकास्मात् गाडीको टायर पन्चर भई अगाडि हुत्तिएर दुर्घटना भएको थियो।
‘बाटो अलिअलि ओरालो थियो। जन्तीहरु अघिअघि नाच्दै गाउँदै हिँडिरहेका थिए। सोही क्रममा गाडीको टायर पन्चर भएर अगाडि हुत्तिएछ,’ प्युठान प्रहरीका इन्स्पेक्टर होमानन्द खनालले भने।
दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको इन्स्पेक्टर खनालले जानकारी दिए।
दुर्घटनामा थप तीन जना घाइते भएका छन्। मल्लरानी गाउँपालिका–३ का कृष्ण परियार, ऐरावती गाउँपालिका–२ करिश्मा सुनार, सिर्जना सुनार र दाङको राप्ती गाउँपालिका–५ कि पिपला सुनार घाइते रहेको इन्स्पेक्टर खनालले जानकारी दिए।
उनीहरूको जिल्ला अस्पतालमै उपचार भइरहेको छ।