बुबाको बिँडो थाम्दै सुहाङः पाँचथरबाट एमालेको संकल्प यात्रामा मिसिए

पाँचथर– नेकपा एमालेका उपाध्यक्ष एवम् संविधान सभाका अध्यक्ष सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङले बुबाको विँडो थामेका छन्। उनी बुबाको जन्मथलो पाँचथरबाट एमालेको संकल्प यात्रामा मिसिएका छन्।
एमालेको सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी लोकमार्ग संकल्प यात्रामा सहभागि हुन उनी पाँचथरको फिदिम पुगेका थिए। त्यहाँ आयोजित आमसभामा पुगेका सुहाङलाई फुलमालाले स्वागत गरिएको थियो। एमालेले संकल्प यात्राको अन्तिम सभाको रुपमा फिदिममा आमसभा गरिरहेको छ।
सुहाङका काका बसन्त नेम्वाङ पाँचथरबाट प्रतिनिधिसभाका सांसद छन्। सुहाङ आफैं इलामबाट फुटबल क्लबमार्फत विभिन्न गतिविधिमा सक्रिय छन् भने उनले राजनीतिमा लागेर आफ्नो बुबाको सपना पूरा गर्ने घोषणा गरिसकेका छन्। यसअघि सुहाङ र उनकी आमाले एमाले अध्यक्ष ओलीलाई भेट गरेका बताइएको छ।
दशैं र तिहारका अवसरमा एमालेले आयोजना गरेका शुभकामना आदानप्रदान कार्यक्रममा उनी निकै सकृय थिए। स्वच्छ छवि बनाएका नेताका रुपमा रहेका सुवास नेम्वाङको गत २६ भदौमा हुदयघातका कारण निधन भएको थियो।