विश्वविद्यालयमा गोली चल्दा १५ जनाको मृत्यु, २४ जना घाईते
काठमाडौं– चेक गणराज्यको राजधानी पाराग्वेस्थित चार्लस युनिभर्सिटीमा एक व्यक्तिको गोली प्रहारबाट १४ जनाको मृत्यु भएको छ। गोली चलाउने व्यक्ति पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन्।
कुल १५ जना मारिएको यो घटनामा अन्य २४ जना घाइते भएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार बिहीबार मानविकी संकायको एक २४ वर्षीय विद्यार्थीले अन्धाधुन्द गोली चलाएका थिए। गोली चलेपछि मानिसहरुको भागदौड मच्चिएको थियो। कतिपय छतबाट पनि हामफालेका थिए।
चार्ल्स विश्वविद्यालय चेक रिपब्लिकको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो विश्वविद्यालय हो। यो युरोपकै पुराना संस्थाहरुमध्ये एक हो। विश्वविद्यालय रहेको क्षेत्र विख्यात पर्यटकीय क्षेत्र पनि हो। यहाँ हरेक वर्ष नयाँ वर्ष मनाउन मानिसहरुको ठूलो भिड जम्मा हुन्छ।
राष्ट्रपति पिटर पावेलले विश्वविद्यालय क्षेत्रमा गोली चलेको घटनाबाट आफू स्तब्ध भएको बताएका छन्। साथै मृतक परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। यो घटना कुनै अन्तर्राष्ट्रिय आतंकवादीसँग सम्बन्धित नभएको चेक प्रहरीले जनाएको छ।
चेक रिपब्लिकमा बन्दुकधारीको आक्रमणबाट मानिस मारिनु सामान्यजस्तै भइसकेको छ। यद्यपि चेक रिपब्लिकको स्वतन्त्रतापछि यो हालसम्मकै घातक आक्रमण भएको बीबीसीले जनाएको छ। यसअघि सन् २०१५ मा एक रेष्टुरेन्टमा गोली चल्दा आठ जनाको ज्यान गएको थियो।