प्रचण्ड, शेरबहादुर र केपीको टाउको काटे २०/२० लाख दिने को हो ?

काठमाडौं– पछिल्लो समय राज्यसत्तामा रहेका प्रधानमन्त्री, दलका नेता अनि मन्त्रीहरूप्रति आक्रोशित संख्या बढिरहेको छ। आक्रोशको अभिव्यक्ति हुने सामाजिक सञ्जालप्रति सरकारको अनुदार व्यवहार बढ्दो छ। तर, रोकिएको छैन। वरु, त्यो आक्रोश कहिलेकाहीँ सडकमा समेत देखिन्छ।

त्यसैको एउटा उदाहरण हो, शुक्रबार भएको बालकुमारी घट्ना। अहिलेसम्म सार्वजनिक भएका तथ्य र घटनाक्रमले कोरियामा रोजगारीमा जान चाहेका बेरोजगार युवाहरूले फारम समेत भर्न नपाउँदा बढेको आक्रोशका विचमा मन्त्री प्रकाश ज्वाला पुग्दा स्थिति भड्किएर दुई जनाको अनाहकमा ज्यान गयो।

मन्त्रीमाथि नै हातपात समेत भएको भिडियोसार्वजनिक भएका छन्। विना सुरक्षा योजना आइपरेको घटना नियन्त्रणमा लिन सुरक्षाकर्मीले बल प्रयोग गर्दा दुई युवाले ज्यान गुमाए। युवामा किन आक्रोश बढ्दैछ भन्ने समस्याको पहिचान गरेर समाधानमार्फत घटना दोहोरिनबाट रोक्नतिर भन्दा सरकारको ध्यान कहिले छानबिन समिति गठन गर्ने त कहिले आयोग गठन गर्नेतिर केन्द्रित छ।

यति मात्रै होईन, देशका प्रधानमन्त्री पुष्पकमल दाहाल नै घट्नालाई ब्यवस्थासँग जोडेर आगोमा घ्यु थप्ने काम गरिरहेका छन्। उनले सार्वजनिक कार्यक्रममा सहजै भनिदिए–‘यो व्यवस्था विरुद्धको षड्यन्त्र हो।’ षड्यन्त्र हो भने त्यो षड्यन्त्र गोली चलाउने प्रहरीले गरे कि मृतक युवाहरूले गरेका थिए या सामान्य सुरक्षा प्रोटोकल समेत नअपनाउने आफ्नै क्याबिनेटका मन्त्रीले ? त्यो भने दाहाल भन्दैनन्।

वरु, शेरबहादुर देउवा, आफु र केपी ओलीको टाउको काटेदेखि म २०/२० लाख दिन्छु भन्ने मान्छे तयार भएको भन्दै प्रचार गर्छन।

सोमवार नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको अन्तरसंवादमा बोल्दै प्रधानमन्त्री दाहालले बालकुमारी घट्ना बाहिर देखिएजस्तो मात्रै नभएको दावी गरे। घटनाको अन्तर्यमा अरू नै केही कुरा भएको उनको भनाइ छ।

उनले भने–‘त्यो गाडी जलाउने वेला मन्त्रीलाई नै भित्रै जलाउनुपर्थ्यो, छोडेछन् भन्ने के भाष्य हो? आज मैले एउटा न्युज हेरेँ शेरबहादुरजी, मेरो र केपी ओलीको। यिनलाई गोली ठोकेर टाउको काटेदेखि म २०/२० लाख दिन्छु भन्ने प्रचार भइराखेको छ। के भाषा हो? के संस्कार हो? लोकतन्त्रमा यस्तो हुन्छ र? जनतालाई निराशा बाँड्ने। अँध्यारो बाहेक देशमा केही छैन भन्ने कोही राष्ट्रवादी हुन सक्दैन।’

उनले आफूले सम्बन्धित निकायसँग घटनाबारे ब्रिफिङ लिँदा सामान्य नलागेको बताए। प्रधानमन्त्रीले भने, ‘अस्तिको घटना हामी कसैले पूर्वानुमान गर्न सक्ने खालको थिएन। म त्यो दिन दोलखामा थिएँ। म अहिले सबै भन्न चाहन्न। केही गम्भीर लागेको छ, सामान्य छैन। त्योभित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु। यो कहीँ लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन त छैन भन्ने लागेको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट