शिवाना श्रेष्ठलाई बुहारीको रुपमा भित्र्याउँदै शेरबहादुर देउवा, विवाहले वढायो घर सर्ने चटारो

काठमाडौँ– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह र उनकी प्रेमिका शिवाना श्रेष्ठबीच विवाहको टुङ्गो लागेको छ। उनीहरु माघ २१ गते विवाह वन्धनमा बाँधिन लागेका हुन।
बुढानीलकण्ठ निवासबाट इन्गेजमेन्ट भएको आठ महिनापछि जयवीरसिंह र शिवाना वैवाहिक बन्धनमा बाँधिन लागेका हुन्। काठमाडौँमा गत जेठ १ मा दुई परिवार र केही साथीहरू उपस्थित समारोहमा जयवीरले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका थिए।
जयवीरसिंह शेरबहादुर र आरजु देउवाका एक्ला सन्तान हुन् भने शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी हुन्। केदारभक्त परराष्ट्र सचिवसँगै युरोपियन युनियन र अमेरिकाका लागि नेपाली राजदूत थिए।
शिवाना केदारभक्तका छोरा सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन्। जयवीर र शिवाना दुवै जनाको छुट्टाछुट्टै व्यवसाय छ। जयवीरले ब्लुप्रिन्ट ट्रेडिङ प्रालिमार्फत केही वर्षदेखि यस्तो व्यवसाय गरिरहेका छन् । यता शिवाना सौन्दर्य सामग्री (ब्युटी—प्रडक्ट) को व्यापारमा छिन्। उनी कभर गायक पनि हुन्। जयवीर र शिवाना लामो समयदेखि प्रेम सम्बन्धमा थिए।
यता, छोराको विवाहका कारण देउवालाई घर सर्ने चटारो वढेको छ। उनी विवाह पुर्व नै आफ्नो निवास बूढानीलकण्ठमा सर्न लागेको जनाईएको छ। प्रधानमन्त्रीबाट मुक्त भएपछि गत वर्ष पुष १३ मा उनी बालुवाटा छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए।
बुढानीलकण्ठको निवासको मर्मत कार्य सकिएपछि बुधबार देउवाले धुम्बाराहीको भाडाको घर छोड्न लागेको देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले पुष्टि गरे ।