प्रेम सुवालले आरजु राणालाई ‘तपाईहरु सिंहदबार कब्जा गर्न पाए मात्रै खुसी’ भनेपछि…
काठमाण्डौ– संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सोमबार सिंहदरबारमा वसेको वैठकमा सभापति आरजु राणा र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालबीच चर्काचर्की भएको छ।
सांसद सुवालले बोल्ने क्रममा सभापति राणाले ‘पोइन्ट टु पोइन्ट’ गर्नुस् भनेपछि सुवाल आक्रोशित भएका थिए। नेपालमा पाइने औषधिको गुणस्तरको विषयमा सुवालले आफ्नो कुरा राखिरहेका थिए। उनले ‘गरिबलाई मार्न पाइँदैन’ भनेपछि सभापति राणाले ‘पोइन्ट टू पोइन्ट’ गर्न सुझाइन्।
उनले सभापति राणालाई ठूलो कुरा नगर्न चेतावनी दिँदै बोकेको कागजात समेत फ्याँकेर बोल्दै नबोली हिँड्न खोजे। बोल्ने बेलामा पक्षपात गरिएको उनको आरोप थियो। राणालाई देखाउँदै सुवालले ‘सिंहदबार कब्जा गर्न पाएपछि मात्रै खुसी’ हुने बताए। रावल आक्रोशित भएपछि समितिको बैठकमा उपस्थित भएका उद्योगमन्त्री रमेश रिजालले पनि रोक्न खोजे।
‘नेपालको औषधिहरू गुणस्तर भएन। नेपालको औषधि नखाएर विदेशको उत्पादन हुन थाल्यो। यस्तो गर्न मिल्छ, मन्त्रीज्यू? त्यो औषधिको कम्पनी कुन हो, खोई नियमन? यस्तो गर्न भएन, गरिबलाई मार्ने काम सरकारले गर्न भएन। यो मिलेन’ भन्दै सुवालले भनेपछि राणाले ‘पोइन्ट टू पोइन्ट गरिदिनुस’ भनिन्।
सुवालले ‘पोइन्टमै हो। तपाईंहरूलाई घोचेपछि अनि पोइन्ट हुँदैन। सबै थाहा छ सभापतिज्यू। तपाईंहरूलाई घोचेको कुरा मन पर्दैन, सबै थाहा छ हामीलाई। तपाईंहरू त सिंहदरबार कब्जा गर्न पाए हुन्छ नि। गरिबको के चिन्ता? सबै थाहा छ। प्रजातान्त्रिक समाजवाद पनि थाहा छ, नाटकै नाटक त हो नि।’ भन्दै सुवालले थपे–‘बीपी कोइरालाको त बीपी प्रतिष्ठान नै बेच्नुभयो नि। सबै थाहा छ हामीलाई। सभापतिजीले ठूलो कुरा गर्न पर्दैन। कुन प्रधानमन्त्रीको पालामा कति भ्रष्टाचार भयो सबै थाहा छ हामीलाई।’
राणाले सुवाललाई रोक्न मनसायले ‘त्यतापट्टी नजाऔँ माननीयज्यू!’ भन्नासाथ सुवाल आक्रोशित भए। उनले ‘किन नजाने? किन रोकेको मलाई’ भन्दै टेबल ठोके। उनले ‘म बोल्दिनँ के’ भन्दै हातमा वोकेको कागजात फालिदिएर कुर्सीबाट उठे।
सुवालले सभापतिले पक्षपात गर्न नपाइँने भन्दै आइन्दा यस्तो नगर्न सुझाए। उनले जनतालाई धोका दिन नपाइने वताए।