प्रचण्डलाई १ घण्टा खुसामत गरेपछि मात्रै सीआईबीले पाएको थियो अरुण चौधरीलाई पक्राउ गर्ने अनुमती
काठमाण्डौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विहिबार नेपालका नामुद ब्यापारी अरुण चौधरीलाई पक्राउ गर्यो। अमेरिकी पत्रिका फोर्बसको अर्बपति सूचीमा परेका विनोद चौधरीका भाई अरुलाई पक्राउ गर्न भने सीआईबीले निकै हैरानी ब्यहोर्नु परेको छ।
अरुण ‘चौधरी समूह’का प्रभावशाली सदस्य त हुन् नै उनको दाइ विनोद चौधरी सत्ता गठबन्धनको सबैभन्दा ठुलो र प्रभावशाली दल नेपाली कांग्रेसका सांसद समेत हुन्। त्यसैले पनि अरुलाई पक्राउ गर्न सीआईबीलाई निकै संकट परेको थियो।
स्रोतको दाबी अनुसार अरुणलाई पक्राउ गर्नु अगाडि प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसका सभापति शेरबहादुर देउवालाई जानकारी गराएका थिए। उनले प्रमाण भए आफ्नो कुनै विमति नहुने बताएपछि नै प्रधानमन्त्रीले सिआइबीलाई अरुणलाई पक्राउ गर्न अनुमति दिएका थिए।
बिहीबारको दौडधुपबारे जानकार स्रोतका अनुसार सिआइबीले अरुणलाई पक्राउ गर्न बिहीबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अनुसन्धानको निचोडबारे ब्रिफिङ गरेको थियो। अनुसन्धानकोक्रममा बरामद भएका प्रमाणले अरुणसहितले सरकारी जग्गा बदनियतसाथ व्यक्तिको बनाएको पुष्टि हुने भन्दै ब्युरो प्रमुख एआइजी किरण बज्राचार्यसहितले गृहमन्त्रीसँग अगाडि बढ्ने अनुमति मागेका थिए।
अरुको नाम सुन्ने वित्तिकै गृहमन्त्री डराए। श्रेष्ठ सकारात्मक भए पनि उनले निर्णय दिन सकेनन्। गृहमन्त्री हच्किनुको कारण विनोद चौधरीको राजनीतिक सम्बन्ध नै थियो। खाण पक्राउ गरेकोमा अहिले पनि उनको पद संकटमै छ। कांग्रेसले गृह मन्त्रालय मागेको माग्यै छ।
गृहमन्त्रीले प्रधानमन्त्रीको अनुमति भए मात्र पक्राउ गरेर औपचारिक अनुसन्धान सुरु गर्न सकिने बताएपछि सिआइबीको टोलीसहित उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्न गएका थिए। यस विषयमा सिआइबीको टोलीले प्रधानमन्त्रीलाई एक घण्टाभन्दा वढि खुसामत गर्यो। बाँसबारीको सरकारी जग्गा अरुण र उनको श्रीमतीको नाममा रहेको चाँदबागको नाममा कसरी पुग्यो भन्ने ब्रिफिङ र प्राप्त प्रमाणहरू देखायो।
सिआइबीले ब्रिफिङ गरिरहँदा प्रधानमन्त्री प्रचण्ड त्यति सहज देखिएका थिएनन्। पर्याप्त प्रमाण सङ्कलन भइसकेको र तत्काल एक्सनमा नजाने हो भने सूचना चुहिएर अनुसन्धानै गर्न नसक्ने अवस्था आउन सक्ने सम्मका पक्षबारे विस्तृत छलफलपछि दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरे।
देउवासँग समेत परामर्श गरेर प्रधानमन्त्रीले सिआइबीलाई अगाडि बढ्न अनुमति दिएका थिए। गृहमन्त्री र प्रधानमन्त्रीसँग परामर्श गर्नु अगाडि नै सिआइबीले बिहीबार पक्राउ गर्ने सुची बनाइसकेको थियो। सूचीमा चौधरीसँगै बाँसबारी छाला तथा जुत्ता कारखानाका कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र सञ्जय ठाकुर पनि थिए।
सिआइबीको टोलीहरू बाँडिएर लाजिम्पाटमा रहेको चौधरी निवास थापाको बत्तिसपुतलीमा रहेको निवासमा निगरानी राखिसकेका थिए। यता प्रधानमन्त्री सहमत भएपछि पहिल्यै निगरानीमा रहेका सिआइबीको टोली अरुणको घरमा गयो। उनी बगैँचामा घाम ताप्दै थिए।
प्रहरीले आफूहरू आउनुको कारण खुलाउँदै सिआइबीको कार्यालय जान भन्दा उनले आफू प्रहरी कार्यालय नजाने अडान लिएका थिए। तर प्रहरी पक्राउ गर्ने तयारीसहित पुगेको थियो। उनीहरूले अरुणलाई मोबाइलबाट कसैसँग सम्पर्क गर्न दिएनन्।
प्रहरीले जसरी पनि लैजाने देखेपछि उनी नुहाउने अनि पूजा गर्ने भन्दै घरभित्र छिरे। प्रहरी कुरेर बस्यो। उनले पूजा सकेपछि पनि आनाकानी गरिरहेका थिए। प्रहरीले बल प्रयोग गर्ने तयारी गरेपछि आफ्नै गाडीमा जाने सर्तमा उनी सिआइबी टोलीसँग निस्किए।
थापाको निगरानीमा रहेको प्रहरी उनको घरभित्र जानु पनि परेन। उनी घरबाट बाहिर निस्किएको बेलामा सहजै पक्राउ गरेर कार्यालय पूर्यायो। ठाकुरलाई भेट्न भने अलि समय लागेको सीआईबीले जनाएको छ।
स्रोतका अनुसार बाँसबारी छाला जुत्ता उद्योगको १० रोपनी सरकारी जग्गा कब्जा प्रकरणमा अरुणका दाजु विनोद चौधरीको पनि संलग्नता छ। तर, विनोदलाई उम्काउने कोशिस छ। यसरी नै उनका माईला भाई बसन्त चौधरीले पनि थापाथलीस्थित परोपकार तथा प्रसुती अस्पताल अगाडी रहेको सरकारी जग्गा गैरकानुनी रुपमा हडपेको खुलेको छ। उक्त सरकारी जग्गा कब्जा गरि उनले नर्भिक अन्तर्राष्ट्रिय अस्पताल संचालन गरेका छन्।
काठमाडौं महानगरपालिका साविक वडा नं. ११ स्थित कित्ता नमबर २०८५ को एक रोपनी ८ आना एकदाम जग्गा चौधरीले कौडीको भाउमा कब्जा गरेका छन्। तत्कालिन भूमिसुधार कार्यालय काठमाडौंका भूमि सुधार अधिकारी लम्ब प्रसाद सिवाकोटीले गैरकानुनी रुपमा उक्त जग्गा चौधरीलाई दिएका थिए।
सरकारी जग्गा भोगचलनका लागि दिने अधिकार मन्त्रिपरिषदलाई मात्रै छ। मन्त्रिपरिषदले गर्ने निर्णय सिवाकोटी एक्लैले गरिदिएका थिए। सम्झौता पत्रमा नर्भिकका तर्फबाट तत्कालिन बरिष्ठ प्रबन्धक मोहन प्रसाद खनाल र भूमि सुधार अधिकारी लम्ब प्रसाद सिवाकोटीले हस्ताक्षर गरेका छन्। त्यति मात्रै होइन थापाथलीजस्तो प्राइम लोकेशनको जग्गा चौधरीले वार्षिक ३७ हजार ९ सय ८९ रुपैयाँमा हत्याएका थिए। अर्थात मासिक ३१ सय १५ रुपैयाँ भाडामा थापाथलीको १ रोपनी ८ आना जग्गा भाडाको नाममा गैरकानुनी रुपमा हत्याईएको छ।
अवैध रुपमा सोही जग्गामा संरचना बनाएको खुलेपछि २०७९ साउनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आफै सहभागी भएर डोजर चलाउन लागेका थिए। तर, नर्भिकका अधिकारीले अक्सिजन प्लान्ट रहेको र विरामीको मृत्यु हुने भन्दै बालेन साहको डोजर फिर्ता गराएका थिए। केही समय मागेका उनीहरुले भवन भत्काउनुको सट्टा अदालत गएर अन्तरिम आदेश ल्याए। अदालतमा मुद्दा सेटिङ्गकै भरमा अहिले अवैध संरचना कायम छ।
बसन्त चौधरीले नर्भिक हस्पिटल एण्ड मेडिकल कलेजलाई भविष्यमा जग्गा चाहिने भन्दै अस्पताल र आफ्ना केही एस म्यानहरुको नाममा काठमाण्डौको कलंकीभन्दा केही माथिको स्वीट्जरल्याण्ड पार्क छेउमा करिब १०० रोपनी जग्गा किनेर राखेका छन्। सो जग्गा आसपासको करिब १० रोपनी सरकारी जग्गा पनि हडपिएको स्रोत बताउँछ।
बसन्त चौधरीले दुहबीको पशुपति बिस्कुट र सुनसरीको सोनापुरस्थित महालक्ष्मी मैदा मिलको नाममा पनि केही विगाहा जग्गा किनेर राखेका छन्। ती दुवै ठाउँमा किनिएको नम्बरी जग्गासँगै जोडिएको केही विगाहा सरकारी जग्गा समेत हडपेको वताईन्छ।
आफ्ना आमा र बुबाको नाममा लुनकरदास गंगादेवी च्यारिटी हस्पिटल सञ्चालनको बाहानामा सुनसरीको दुहबी बजारको प्राइम लोकेसनमा करिब एक विगाहा सरकारी र ऐलानी जग्गा समेत बसन्त चौधरीले वर्षौदेखि हडपेका छन्। दुहबी नगरपालिकाले सो अस्पताल खाली गर्न पटकपटक प्रयत्न गरे पनि पैसा पेलेर जनप्रतिनिधिलाई पनि तै चुप मै चूप गराउने गरिएको छ।
च्यारिटीको नाममा खोलिएको त्यो अस्पताल बन्द भएको वर्षौ भयो। तर, सोही अस्पतालको नाममा च्यारिटीको काम गर्ने भन्दै महंगा मेडिकल उपकरण भित्र्त्याएर नर्भिकमा ल्याउने उनको धन्दा छुट्टै छ। सानादेखि ठूला स्वास्थ्य उपकरण समेत सो च्यारिटी अस्पतालको नाममा भित्र्त्याउने क्रम जारी छ, तर अस्पताल वर्षौदेखि बन्द छ। अर्कोतर्फ सोही अस्पतालको नाम अगाडि च्यारिटी शब्द जोडेर करोडौंको सरकारी जग्गा पनि वर्षौदेखि हडपिएको छ। कतिपयले बसन्त चौधरीलाई पनि पक्राउ गर्नु पर्ने आवाज उठाई रहेका छन्।
र, यो पनि
- दरबारकै सदासयतामा ३७ वर्षअघि चौधरी समूहले हडपेको थियो बाँसवारीको सरकारी जग्गा
- आफन्त पक्राउ परेपछि राष्ट्रपतिका सल्लाहकार हस्याङ्फस्याङ गर्दै पुगे सीआईबी
- सरकारी जग्गा हिनामिना प्रकरणमा झारखण्डका मुख्यमन्त्री नै पक्राउ
- बाँसबारी छालाजुत्ता जग्गा हिनामिना प्रकरणमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी पक्राउ