गायिका एलिना चौहानलाई गालीगलौज गरेको अभियोगमा कवि गुञ्जन राई पक्राउ

काठमाडौं – गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा कवि गुञ्जन राई पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर ब्युरोले राईलाई आज केहीबेरअघि ललितपुरबाट पक्राउ गरेको हो। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीका अनुसार चौहानको उजुरीका आधारमा राईमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ।

चौहानले सामाजिक सञ्जालमार्फत निरन्तर गालीगलौज र चरित्र हत्या गर्नेहरूमाथि कडा कारबाहीको माग गर्दै चार जना विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरी भन्दा अगाडि उनले फेसवुकमै भण्डाफोर अभियान चलाएकी थिईन।

‘त्यसरी प्रोफाइल सार्वजनिक गर्दा पनि पटकपटक असभ्य व्यवहार गर्नेहरूलाई कारबाहीको घेरामा ल्याउन उजुरी दिन बाध्य भएँ।’ उनले भनेकी छिन्। बाँकी व्यक्तिहरूविरुद्ध पनि उनी उजुरी दर्ता गर्ने तयारीमा छिन्।

केही दिनयता एलिना र अर्की गायिका समीक्षा अधिकारीले आलोचक र गाली गर्नेहरूको नाम सार्वजनिक गर्ने अभियान चलाएका थिए। उनीहरूलाई निरन्तर निजी जीवनका विषयमा भद्दा टिप्पणी र यौनिक गाली भइरहेको थियो। समीक्षा केही समयअघि बलात्कार आरोपको मुद्दा लिएर अदालत पुगेकी थिइन् भने एलिनाले श्रीमानसँग डिभोर्स गरेपछि झनै अभद्र टिप्पणीको सिकार बनेकी हुन्।

एलिनाले भनिन्, ‘हामीले धेरै सह्यौं, अब सबैका लागि न्याय खोज्नुपर्छ भन्ने लागेर यो कदम चालेकी हुँ।’ यो अभियानले सामाजिक समर्थनसमेत पाइरहेको छ। प्रधानमन्त्रीसमेतले ‘साहसी छोरीहरू’ भन्दै सार्वजनिक रूपमा प्रशंसा गरेका छन्। एलिनाले भनिन्, ‘प्रधानमन्त्रीका निकटका व्यक्तिहरूले फोन गरेर हामी तपाईंहरूको साथमा छौँ भनेपछि अझ ऊर्जा थपियो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट