अर्थशास्त्रका ‘गोल्ड मेडलिष्ट’ उपसचिव नेपाल भ्रष्टाचारी प्रमाणित

काठमाडौ– अर्थशास्त्रका ‘गोल्डमेडलिष्ट’ पर्यटन मन्त्रालयका तत्कालीन उपसचिव प्रमोद नेपाल भ्रष्टाचारी प्रमाणित भएका छन्। घुस रकमसहित रङ्गेहात पक्राउ परेका नेपाललाई विशेष अदालत काठमाडौले भ्रष्टाचारी प्रमाणित गरेको हो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले नेपाललाई शुक्रवार भ्रष्टाचारको मुद्दामा दोषी ठहर गर्दै १ वर्ष कैद सजाय र ६ लाख जरिवाना हुने फैसला सुनाएको छ।

नेपालसँगै प्रतिवादी बनाइएका बीबी एयरवेजका तत्कालीन कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठले भने सफाइ पाएका छन्। बीबी एयरवेजको इजाजत पत्र नवीकरणका लागि नेपालले १६ लाख रुपैयाँ घुस लिएको अख्तियारको आरोप थियो।

बीबी एयरवेजका कार्यकारी अधिकृत श्रेष्ठले भने नेपाललाइ घुस दिएको नभई सापटी दिएको बयान दिएका थिए। नेपाल १७ साउन ०७९ मा नागपोखरीस्थित होटल अरण्यको परिसरबाट साढे २२ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका थिए।

उपसचिव नेपाल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तरका ‘गोल्ड मेडलिष्ट’ थिए। त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा स्वर्णपदक पाएका उनले बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसर समेत पाएका थिए।

छात्रवृत्तिमा अध्ययन गरेर फर्किएको आठ महिना पुग्दा नपुग्दै उनी घुससहित रंगेहात पक्राउ परे। सरकारी सेवामा प्रवेश गरेपछि उनले नागरिक उड्ययन प्राधिकरणमा काम गरेका थिए। एयर ट्राफिक कन्ट्रोलर–एटीसी) पनि भएका थिए।

छात्रवृत्तिमा अध्ययन सकेर आठ महिनाअघि मात्रै नेपाल फर्किएका उनी मन्त्रालयमा काम गर्न थालेका थिए। पर्यटन व्यवसायीसँग घुस मागेको संकेत पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनको निगरानी गरेको थियो।

नेपालले नागपोखरीस्थित होटल अरण्यमा घुस लिएको सुनिश्चित भएपछि टोलीले ६ लाख रुपैंयासहित पक्राउ परेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट