ओलीको एक धम्कीले राष्ट्रपति कायलः २ महिनादेखि रोकिएको फाईल कार्यान्वयनमा

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवम पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले धम्की दिएको दुई दिन वित्न नपाउँदै राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिव नियुक्त गरेका छन्।

राष्ट्रपति पौडेलले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिस कार्यान्वयन गर्दै मंगलबार पद्मप्रसाद पाण्डेयलाई संघीय संसदको महासचिव नियुक्त गरेका हुन्। उनलाई गत मंसिर २५ गते महासचिव नियुक्त गर्न सिफारिस गरिएको थियो।

तत्कालीन महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत नहुँदै पाण्डेयलाई नियुक्त गर्न सिफारिस गरिएको भन्दै राष्ट्रपति पौडेलले निर्णय गर्न मानेका थिएनन्। उनले यस विषयमा कानुनका जानकारसँग परामर्श समेत गरेका थिए।

सिफारिस रोक्ने अधिकार राष्ट्रपतिलाई छैन। राष्ट्रपतिले सिफारिस कार्यान्वयन नगरेपनि तत्कालीन महासचिव गौतमको राजीनामा स्वीकृत भएपछि सभामुख घिमिरेले पाण्डेयलाई कार्यबाहक महासचिवको जिम्मेवारी दिएका थिए। सिफारिस कार्यान्वयनका लागि सभामुख घिमिरेले ३ माघमा राष्ट्रपति पौडेललाई स्मरणपत्र पठाएका थिए।

यसबीचमा पाण्डेय दुई वटा नागरिकता लिएको विवादमा मुछिएका थिए। यो विषयमा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयबाट आवश्यक कागजात मगाएर अध्ययन गरिरहेको बताएको छ।

यता, पाण्डेयको नियुक्ती रोकिईरहेका वेला एमाले अध्यक्ष ओली शनिवार राष्ट्रपति पौडेलसँग रिसाए। पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओली राष्ट्रपति पौडेलको पछिल्लो भूमिकालाई लिएर रिसाएका हुन।

‘राष्ट्रपतिजी तपाईँ कांग्रेसको प्रतिनिधि होइन, सिङ्गो देशको राष्ट्रपति हो, आफ्नो थान्कामा बस्नुस्, आफूले पाएको अधिकार प्रयोग गर्नुस्, जथाभाबी अधिकारको प्रयोग नगर्नुस्, गठबन्धनको प्रतिनिधि होइन राष्ट्रपतिज्यू तपाईँ, देशको प्रतिनिधि हो, देशको प्रतिनिधि भएर काम गर्नुस्,’ उनले भने ।

उनले अगाडि भनेका थिए–‘राष्ट्रपति संविधानभन्दा माथि होइन, हामीले राजालाई त संविधानभित्र ल्याएर संविधानभन्दा माथि नहुने गराएका थियौँ, त्यो दायरा नाघ्दा राजतन्त्र समाप्त भयो। संविधानको दायरा नाघ्यो भने कसैको पनि भलो हुँदैन।’ ओलीको यो धम्की लगत्तै पौडेलले पाण्डेयलाई महासचिवमा नियुक्त गरेका छन्।

पाण्डेय पाल्पाको रिब्दिकोट गाउँपालिका–१ का हुन्। उनले २०२६ जन्म मिति उल्लेख गरी २०४६ सालमा पहिलोपटक नागरिकता लिएकामा २०६६ भदौ ८ मा जन्म मिति २०३२ उल्लेख गरी अर्को नागरिकता लिएका थिए। पछिल्लोपटक लिएको नागरिकता उनले २०७६ असोज २३ मा रद्द गराएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट