पूर्वराजासँग टाँसिने दुर्गा प्रसाईँको योजना फेरी फेल खायो, अभिनन्दन अघि ज्ञानेन्द्र लागे चितवन

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पूर्वराजा ज्ञानेन्द्र शाहसँग नजिकिन सक्दो प्रयास गरिरहेको छ। कुनै पनि राजनीतिक दल आफु अनुकुल नभएपछि पूर्वराजाकै फेरो समातेर आफनो मैदान तयार गर्ने योजनामा रहेका उनको प्रयास सफल हुन सकेको छैन।
पूर्वको झापाबाट पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारै सहभागी गराएर नागरिक बचाउ अभियान सुरु गरेका उनले राजतन्त्रको पक्षमा माहौल वनाउन काठमाडौंमा आन्दोलनसमेत गरे। उनको तीन दिने आन्दोलन खासै प्रभावकारी देखिएन।
त्यसपछि पनि उनले हरेश खाएका छैनन्। उनी अनेक उपायको खोजी गरेर ज्ञानेन्द्र शाहसँग टाँसिने प्रयास गरिरहेका छन्। ज्ञानेन्द्र शाहलाई भेट्ने, फकाउने, फोटो खिच्ने अनि सामाजिक सञ्जालमा पोष्ट गर्ने लगायतका काममै अहिले प्रसाईको ध्यान छ।
उनको यो प्रयासका कारण राजतन्त्र र हिन्दुराष्ट्रको मुद्दा बोकेका कतिपय राजनीतिक दलका नेता झस्किएका पनि छन्। तर, ज्ञानेन्द्र शाहका भरपर्दो र विश्वासयोग्य साथ भने उनले अहिले पनि नपाएको अड्कल काट्न सकिन्छ।
यसै क्रममा प्रसाईले अभियानको वार्षिकोत्सवको अवसर पारी मंगलबार काठमाडौँमा पूर्वराजा शाहलाई निम्तो पठाएका थिए। उनले अभिनन्दन गर्ने भन्दै दिएको निम्तो ज्ञानेन्द्रले अस्विकार गरेका छन्। ज्ञानेन्द्र शाह उक्त कार्यक्रममा सहभागी नहुने जनाईएको छ।
प्रसाईंले आफ्नो अभियानको वार्षिकोत्सव समारोह काठमाडौँको भृकुटीमण्डपमा गर्दै छन्। कार्यक्रममा सबै राजनीतिक दलका नेता तथा स्वतन्त्र व्यक्तित्वहरूलाई पनि बोलाइएको छ। त्यही कार्यक्रममा पूर्वराजा शाहलाई अभिनन्दन गर्न अभियानको उपत्यका समितिले विभिन्न तयारी गरेको थियो।
शाहकै हातबाट द्वीप प्रज्ज्वलन गर्ने कार्यक्रम पनि थियो। अभिनन्दनका लागि ताम्रपत्रसमेत तयार गरिसकिएको छ। तर, पूर्वराजा शाह भने प्रसाईंको अभियानको पूर्वसन्ध्यामा आइतबार नै चितवनतिर लागेका छन्। सोमबार पनि उनी चितवनमै छन्।