इन्द्रेणी प्रकरण अदालत पुग्यो, कृष्ण कँडेलले शर्मिलाविरुद्ध दर्ता गराए मुद्दा

काठमाडौं– चर्चित लोक दोहोरी कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल र कलाकार शर्मिला श्रेष्ठबीच केही महिनायतादेखि सुरु भएको विवाद अदालतमा पुगेको छ। कँडेलले शुक्रबार श्रेष्ठलगायत विरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता गराएका छन्।
उनले आफ्नो र आफूले सञ्चालन गर्दै आएको इन्द्रेणी सांस्कृतिक समाज केन्द्र तथा संस्थामा आबद्ध कर्मचारी र कलाकारहरूका विरुद्धमा आरोप लागेको भन्दै मुद्दा दर्ता गराएका हुन्। दर्ता भएको मुद्दामा शर्मिला श्रेष्ठ, जीवन टण्डन, कविता लामा, पूर्ण प्रसाद कँडेल, खगेन्द्र वि.क र लक्ष्मी प्रसाद घिमिरेलाई विपक्षी बनाइएको छ।
‘विपक्षीहरूले मेरो मान प्रतिष्ठा, इज्जत तथा संस्थाको गरिमामाथि धक्का पुग्ने किसिमले मेरो, इन्द्रेणी तथा सो संस्थामा आबद्ध अन्य महिला कलाकार तथा कर्मचारीहरूको बेइज्जती गरेको हुँदा मुलुकी फौजदारी संहिता २०७४ को दफा ३०७ (२) अनुसार विपक्षीहरूले गरेको बेइज्यतिको गम्भीरता, मेरो प्रतिष्ठामा पर्न गएको असर र मलाई मेरो बेइज्जती गर्ने दूषित उद्देश्यका साथ गैर कानुनी तवरबाट विभिन्न सामाजिक सञ्जालमा लाइभ बस्ने, कथित रूपमा पत्रकार सम्मेलन गर्ने तथा विभिन्न अनलाइन सञ्चार माध्यममा समेत सार्वजनिक गरेको हुँदा विपक्षीहरुबाट उचित क्षतिपूर्ति दिलाई उक्त क्षतिपूर्ति रकम असहाय तथा दुःखी पीडितले प्राप्त गर्ने गरी नेपाल सरकारअन्तर्गत रहेको पीडित राहत कोषमा पठाई पाउँ।’– मुद्दामा भनिएको छ।
इन्द्रेणीबाट निकालिएको भनिएका शर्मिलासहितका कलाकारहरुले लगाएको आरोपको उनले पत्रकार सम्मेलन गरिर पनि खण्डन गरेका थिए।
पहिले इन्द्रेणीमै काम गर्ने छ जना कलाकारहरुले पहिले फेसबुक लाइभमा र लगत्तै पत्रकार सम्मेलन गरेर कँडेलले श्रम शोषण गरेको बताएका थिए। शर्मिलाले आफू तीनवर्षदेखि ‘यौन दुर्व्यवहार’ को शिकार भएको गम्भीर आक्षेपसमेत लगाएकी थिइन्।
तर, कँडेलले भने त्यस्ता आरोप निराधार रहेको दाबी गरेका छन्। श्रम शोषण नगरेको र इन्द्रेणीको रकम हिनामिना नभएको जिकिर उनले गरे। तीन वर्षअघि ‘ह्यारेस्मेन्ट गरेको भए अहिलेसम्म किन नबोलेको ?’ भन्दै उनले उल्टै प्रश्न गरेका छन्।
‘शर्मिला बहिनीले ममाथि तीन वर्ष अगाडि हेरेस्मेन्ट गरेको आरोप लगाउनु भएको छ। त्यस्तो हो भने यो तीन वर्ष के हेरेर बस्नु भयो?’, आरोप इन्कार गर्दै कँडेलले भने।
कलाकारहरुले इन्द्रेणीका नाममा पैसा उठाएर कँडेलले एकलौटी गरेको र आफूहरुलाई ‘घर न घाटको बनाएको’ भन्दै फेसबुक लाइभमै रुवाबासी गरेका थिए।