विवाहेत्तर सम्वन्धले ४ जनाको एकै चिहान, ह्यामरले हानेर र कैँचीले छातीमा घोचेर हत्या

काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका–६ भैरवटोलमा श्रीमती, छोरी र नातिनीको हत्यापछि राजु घिमिरे भन्ने काजी विकले आत्महत्या गर्नुको मुख्य कारण ‘विवाहेत्तर सम्बन्ध’ रहेको खुलेको छ। यही सम्वन्धका कारण राजुका श्रीमान र श्रीमतीकाबीच लामो समयदेखि विवाद हुँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

राजुले पत्नी ईश्वरी श्रेष्ठ (प्रेमकुमारी) ‘विवाहेत्तर सम्बन्ध’मा रहेको कुरा हत्यापछि रेकर्ड गराएको भिडियो बयानमा पनि जिकिर गरेका छन्। १५ वर्षका छोरा अनिशलाई मोबाइलमा भिडियो खिच्न लगाएर उनले भनेका छन्, ‘तिमीहरुले चितवनको केटालाई छाड्ने हैन।’

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भएर भैरवटोलस्थित बद्री चापागाईंको घरमा डेरामा बस्दै आएका राजु र इश्वरीले १८ वर्ष पहिले प्रेम विवाह गरेका थिए। राजुसँग विवाह गर्नुअघि ईश्वरीले पहिलाका श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी थिइन्। तर, छोराहरूसँग सम्बन्ध राम्रो थियो।

ईश्वरीका पहिलेका श्रीमानबाट जन्मिएका छोरा हुन् अनिल, जो रोजगारीका क्रममा विदेशमा छन्। उनकी श्रीमती जेनी र छोरी शिवानी राजु र इश्वरीसँगै थिए। ईश्वरी र राजुको सम्बन्धबाट एक छोरा र एक छोरी जन्मिएका थिए। १४ वर्षका अनीश र ८ वर्षकी अनिशा। अनिशाको आमासँगै हत्या भएको छ।

ज्याला मजदुरी गर्ने राजुले श्रीमतीलाई परपुरुषसँगको सम्बन्धमा शंका गर्दै आएका थिए। यसै विषयमा विवाद हुँदा ईश्वरीले एक महिनाअघि विष सेवन पनि गरेको खुलेको छ। मुसा मार्ने विष खाएकी उनलाई तत्काल शहीद मेमोरियल अस्पताल लगेर बचाईएको थियो।

हत्यापछि रेकर्ड गराएको भिडिओमा राजुले काठमाडौंकै एक पुरुषसँग ईश्वरी सम्बन्धमा रहेको बताएका छन्। राजुले एक दिन ईश्वरीलाई उनै पुरुषसँग भेटेका पनि रहेछन्। उनीहरूका म्यासेज र फोटो पनि भेटेपछि ईश्वरी र उनको बिबादले उग्ररुप लियो। त्यसबेला ईश्वरीले आफूलाई प्रलोभनमा पारेर बलात्कार गरेको बताएकी थिइन्।

त्यसको केही समयपछि गत माघमा ईश्वरीले ती पुरुषविरुद्ध प्रहरीमा बलात्कारको जाहेरी पनि दिइन्। प्रहरी वृत्त स्वयम्भुले त्यसबारे अनुसन्धान गरेर सितापाईला वस्ने रमेश श्रेष्ठ नामका ब्यक्तिलाई पक्राउ गरेको थियो। तर अदालतमा ती पुरुषले ईश्वरीले आर्थिक बार्गेनिङ गरेको बयान दिए र २ फागुनमा ५ लाख धरौटीमा छुटेका थिए।

ईश्वरीले बलात्कारको आरोप लगाएका पुरुष धरौटीमा छुटेपछि पनि उनीहरुका बीचमा तनाव चलिनै रह्यो। त्यससँगै चितवनका अर्का पुरुषसँग पनि ईश्वरीको सम्बन्ध रहेको भन्दै राजुले उनीमाथि शंका गरेका थिए। मंगलबार राति तिनै ‘चितवनको केटा’को विषमा उनीहरुको बिचमा विवाद भएको थियो। छोरा अनिशले बुबा र आमाको बिचमा ‘विवाद’ भएको अनुसन्धान अधिकृतहरुलाई बताएका छन्।

त्यसपछि बिहान ७ बजेर ४० मिनेटमा राजुले छोरा (अनिश)लाई दुनोट किन्न पठाएर पत्नी ईश्वरी, ८ वर्षीया छोरी अनिशा र दुई वर्षीय नातिनी शिवानीको हत्या गरेको खुलेको छ। जेनी भने बिहान ७ बजे बल्खुमा काममा निस्केकाले बाँचेको देखिएको छ। जेनी निस्केपछि राजुले हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ।

राजुले पत्नीको टाउकोमा ह्याम्मरले हिर्काएर छातीमा कैँचीले घोपेर हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ। छोरीलाई घाँटीमा डोरीले कसेर र नातिनीलाई कैँचीले घोपेर हत्या गरेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन्। ८ वर्षीय अनिशाको घाँटीमा डोरीले बाँधेको र छातीमा कैँचीले घोपेको चोट देखिएको छ।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट