अर्थमन्त्री फेर्न देउवा तयार नभएपछि मरिच झै चाम्रिए प्रचण्ड, मन्त्री मण्डल फेरबदल प्रचार मात्रै

काठमाडौं– तीन महिना अघिदेखि हरेक कार्यक्रम र वैठकमा मन्त्री मण्डल फेरबदल गर्ने प्रचार गर्दै हिडेका प्रधानमन्त्री पुष्पकमल दाहाल अहिले मरिच चाम्रिए झै चाम्रिएका छन्। सत्ता गठबन्धनको प्रमुख पार्टी नेपाली कांग्रेस मन्त्री फेर्न र मन्त्रालय साटफेर गर्न तयार नभएपछि दाहाल अप्ठ्यारोमा परेका हुन्।

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच औपचारिक अनौपचारिक रुपमा मन्त्री फेर्नेबारे छलफल भएपनि सहमति जुट्न सकेको छैन। देउवाले सोमबार प्रधानमन्त्री दाहालसँग भेट्न ३ बजेको समय लिएका थिए, तर मन्त्री परिषदको बैठकका कारण भेटवार्ता हुन सकेन।

प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार सोमबार मन्त्री परिषद बैठकका कारण प्रधानमन्त्री दाहाल र देउवाबीच भेट हुन नसकेको हो। सभापति देउवाले आफ्नो पार्टीबाट मन्त्री भएकाहरू दुई वर्षका लागि गएको स्मरण गराउँदै दाहाललाई केही मन्त्री फेर्न सकिने तर सेट नै फेर्न नसकिने जवाफ दिएका छन्।

उनले दुई जना मन्त्री मात्र परिवर्तन गर्ने, अरु मन्त्रीलाई निरन्तरता दिने बताएका छन्। त्यसमध्ये पनि अर्थमन्त्री फेर्न देउवा तयार छैनन्। स्वास्थ्य मन्त्री मोहन बस्नेत र अर्को एक जना मन्त्री मात्र फेर्ने संकेत देउवाले गरेका छन्। अख्तियारको छानविनमा परेका मन्त्री बस्नेत विवादमा पनि तानिँदै आएका छन्।

देउवा अर्थमन्त्री प्रकाशशरण महतलाई हटाउन तयार नभएपछि प्रधानमन्त्री दाहालले अप्ठेरो महशुस गरेका छन्। खराब अर्थतन्त्रमा सुधार ल्याउन नसकेको र मनोमानी हिसावले चलेको भन्दै प्रधानमन्त्री दाहाल अर्थमन्त्रीसँग असन्तुष्ट छन्।

केही सातादेखि दाहाल र देउवाले अर्थ मन्त्रालय र गृह मन्त्रालय साटफेर गर्न गृहकार्य थालेको चर्चा भइरहेको थियो। देउवा नै अर्थमन्त्री फेर्न तयार नभएपछि तत्कालका लागि यसमा ब्रेक लाग्ने देखिएको छ। अर्थमन्त्री महतले पनि आफुलाई कम्तिमा लगानी सम्मेलन आयोजना गर्न र अर्को एउटा बजेट ल्याउन दिन आग्रह गर्दै आएका छन्।

सत्ता गठबन्धनका माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी भने आफ्नो पार्टीबाट पठाइएका मन्त्रीहरूको टिम नै फेर्न चाहन्छन्। एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक वर्षका लागि मात्रै भनेर मन्त्रीहरू पठाएकाले उनीहरू टिम नै फेर्न हतारिएका छन।

माओवादी केन्द्रबाट मन्त्री भएकाहरूलाई कसरी फेरबदल गर्ने भन्नेबारे प्रधानमन्त्री दाहालले मंगलबार पार्टीको पदाधिकारी बैठकमा छलफल गर्ने तयारी गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट