उदयपुरको जीप दुर्घटनामा परेर क–कस्ले ज्यान गुमाए, घाईते को को हुन ?

राजविराज– उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीमा बिहीबार भएको बोलेरो जिप दुर्घटनामा परेर ज्यान गुमाएका आठै जनाको सनाखत भएको छ।

धरानबाट भोजपुरको घोडेटार जाँदै गरेको को १ ज २५९३ नम्बरको जिप सडकबाट तल खस्दा दुर्घटना भएको थियो।

बिहान साढे १० बजे भएको दुर्घटनामा जीपका चालक इटहरी १६ का ४२ वर्षीय मानबहादुर बस्नेतसहित ८ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका एसपी दीपक पोखरेलले जानकारी दिए।

उनका अनुसार भोजपुर हतुवागढी गाउँपालिका २ की ७० वर्षीया पर्वतमाया राई, सोही ठाउँका २३ वर्षका चन्द्रप्रकाश राई, उनका ६ महिनाका छोरा डिसाङ राई, भोजपुर हतुवागढी ९ का ६८ वर्षीय पदमबहादुर थापा, हतुवागढी ५ की ३० वर्षीया रामकुमारी राई र इटहरीका कमल अधिकारीको घटनास्थलमै मृत्यु भएको हो।

भोजपुर हतुवागढी ५ का ४२ वर्षीय किसान राईको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ।

दुर्घटनामा परी मोरङको कानेपोखरी गाउँपालिका–५ का ३७ वर्षीय विशेष पराजुली, आमचोक गाउँपालिका–६ भोजपुरकी २० वर्षीया मिनु राई, सोही स्थानकी ३६ वर्षीया सावित्रा राई, हतुवागढी गाउँपालिका–२ की ३२ वर्षीया शान्ति राई, हतुवागढी गाउँपालिका–१ का १७ वर्षीय सुनील परियार, सोही स्थानकी १७ वर्षीया सविना परियार, इटहरी–१७ सुनसरीकी ३४ वर्षीया गायित्री कटवाल, उनकै आठ वर्षीया छोरी निकिता कटवाल र इटहरी–१७ की २९ वर्षीया रमा थापा घाईते भएका छन्।

घाईते सवैको धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको प्रहरीले जनाएको छ। क्षमताभन्दा बढी यात्रु बोकेका कारण अनियन्त्रित भएर जिप दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट