शंकाले जलायो बमबहादुर र गीताको लंकाः बुबा–आमाको मृत्युले ८ वर्षीय बबिनको बिचल्ली

विराटनगर– मोरङको बेलबारी नगरपालिका–१ का ६० वर्षीय बमबहादुर लिम्बूले मंगलबार राती श्रीमती ४५ वर्षीया गीता लिम्बूको हत्या गरेर आफु पनि आत्महत्या गरे। निर्मला राईको घरमा २ वटा कोठा भाडामा लिएर बसेका उनीहरुको चिया र मर्चा (जाँड बनाउने कच्चापदार्थ) को ब्यापार थियो।

प्रहरीको प्रारम्भिक अनुशन्धान अनुसार बमबहादुरले दाउले घाँटी काटेर गीताको हत्या गरेपछि आफु पनि सोही दाउले सेरिएर (घाँटी रेटेर) आत्महत्या गरेका हुन। घरायसी विवादका कारण घट्ना भएको भनिए पनि हत्याको चुरो अहिलेसम्म खुलेको छैन।

स्थानीयको कुरा पत्याउने हो भने बमबहादुर गीताप्रति अलि वढि नै शंकालु थिए। बेला–बेला उनीहरुको झगडा परिरहन्थ्यो। झगडाको एउटा कारण बमबहादुरको शंका पनि थियो। एक वर्षअघि पनि उनीहरुको ठुलै झगडा प-यो। गाउँलेहरु वसेर उनीहरुलाई मिलाइदिएका थिए। मंगलबारको राती पनि यस्तै भयो होला भन्ने अनुमान हो। ठ्याक्कै यही भएको हो भन्ने आधार छैन।

प्रहरीका अनुसार बुधबार विहानको राती करिव २ बजे इलाका प्रहरी कार्यालय बेलबारीमा बमबहादुर र गीताका छिमेकी पुगेर घट्नाको विवरण टिपाएका हुन। उनीहरुले दिएको सूचनामा दुवै जना जिवितै थिए। ‘गीता र बमबहादुर दुबै रक्ताम्य ढलेका छन्’ भन्ने सूचना पाएर पुगेको प्रहरीले गीतालाई मृत अवस्थामा फेला पारेको थियो। बमबहादुर जिवितै थिए। उपचारका लागि विराटनगर स्थित नोवेल अस्पटाल पठाईएका उनले उपचार सुरु हुन नपाउँदै दम तोडे।

प्रहरी घट्नास्थलमा पुग्दा घरेबटी निर्मला त्यही थिइन्। उनका अनुसार घरमा डाङ्डाङ्–डुङ्डुङ्को आवाज आएपछि उनी तत्कालै त्यहाँ पुगेकी हुन। उनी पुग्दा गीता रक्ताम्मे भएर डङ्रङ्ग ढलेकी थिईन। बमबहादुर दाउले आफ्नै घाँटी रेटिरहेका थिए।

त्यतिबेलासम्म बबिन कोठाभित्रै थिए। डरले लुगलुग काँपिरहेका बबिन निर्मलालाई देखेपछि उनीसँगै वाहिर निस्किए। निर्मलाले आत्तिँदै छिमेकीसँग हारगुहार गरिन। त्यसपछि मात्रै प्रहरीले खवर पाएको मोरङ प्रहरीका डीएसपी रन्जन दाहालले बताए।

बमबहादुर र गीता ४/५ वर्षअघि मात्रै बेलबारी आएका हुन। ८ वर्षीय बबिन लिम्बू उनीहरुका एक्लो सन्तान हुन। उनी २ कक्षामा पढ्दै गरेको खुलेको छ। बमबहादुर र गीताको विवाह कहिले, कहाँ र कसरी भयो भन्ने एकिन नभए पनि दुवैको दोस्रो बिवाह भएको खुलेको छ।

जानकारी अनुसार गीतापट्टीका जेठा श्रीमान् र बमबहादुरकी जेठी श्रीमतीका पनि छोराछोरी छन्। तर, कहाँ छन् र कति छन् ? भन्ने सूचना अहिलेसम्म प्रहरीले पनि पाएको छैन। कोही पनि सम्पर्कमा आईनसकेको प्रहरीले जनाएको छ।

गीताको पहिलेको घर धनकुटा र बमबहादुरको तेह्रथुम हो भन्ने बुझिएको छ। प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको छ। तर, दुवैको मृत्युले बबिनको भने सहारा खोसिएको छ।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट