एक मृतकको चार ठाउँमा काजकिरिया, देउता छुट्टिएको भन्दै दाहासंस्कार पनि अलग्गै

टीकापुर– हिन्दु धर्मशास्त्र अनुसार मातापिताको निधन भएपछि छोराछोरी एकै ठाउँमा भेला भएर काजकिरिया गर्ने चलन छ। तर, टीकापुर नगरपालिका–१, वनगाउँको बिचपुरुवामा भने अनौठो प्रकारको काजकिरिया चलिरहेको छ।

स्थानीय कल्ठीदेवी चौधरीको १० चैतमा मृत्युपछि उनका २ छोरा र २ पनातिले फरक फरक ठाउँमा काजकिरिया गरेका छन्। कल्ठीका माइला छोरा छिटकलाल, कान्छा छोरा छुकुन्वा, जेठा छोरा जितबहादुरका नाति वसन्त बिचपुरुवास्थित आआफ्नै घरमा काजकिरिया बसेका छन्। अर्का नातेदार दिपेश चौधरी उत्तरपुरुवामा काजकिरियामा छन्।

यति मात्रै होईन, उनीहरुले कल्ठीको दाहासंस्कार पनि फरक फरक गरेका छन्। कल्ठीको अन्तिम संस्कार कर्णाली नदीमा भयो। आमासँगै बसेका कारण कान्छा छोरा छुकुन्वाले अन्तिम संस्कार गरे। तर माइला छोरा छिटकलाल र पनातिहरू (जेठो छोराका नाति) ले भने घर आएर कुशको पुतला बनाएर अन्तिम संस्कार गरेको स्थानीयहरु वताउँछन्।

स्थानीयका अनुसार थारु समुदायमा दाजुभाई छुट्टीएर अलग भएपछि देउता र पितृ पनि वाँडिने प्रचलन छ। कल्ठीका तीन छोरा २०४५ सालमा छुट्टिई भिन्न भएका थिए। अंशबन्डासँगै दाजुभाइ छुट्टिए र देउता पनि बाँडिए। अलग अलग देवता भइसकेपछि थारू समुदायको चलन अनुसार मृत्युकर्म पनि अलग अलग गर्नुपरेको गाउँका अगुवाहरु बताउँछन्।

उनीहरुका अनुसार जेठो छोराले देवता पाउँछ भने बाँकीलाई जेठोले फलामको टुक्रा दिनु पर्छ। यही फलामको टुक्राबाट बनेको त्रिशूल (कामा) मा देवी (मैयाँ) बनाई स्थापना गरेपछि देवता छुट्टिएको मानिन्छ।

यसपछि बाआमाको मृत्यु भएमा अलग अलग काजकिरिया गर्नुपर्ने चलन रहेको उनीहरु वताउँछन्। यही चलनका कारण थारू समुदायमा बाआमा जीवित हुँदासम्म जति भाइ भए पनि सगोलमै बस्ने चलन छ।

तर, धर्मशास्त्रमा भने यस्तो परम्पराको वारेमा उल्लेख नभएको जानकारहरू बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट