प्रेम प्रश्ताव अस्विकार गर्दा १८ वर्षीया किशोरीको हत्या गरेका रुपेन्द्र कारागार चलान

काठमाडौं– प्रेम प्रश्ताव अस्विकार गरेपछि १८ वर्षीया किशोरीको हत्या गरेका गोकर्णेश्वर नगरपालिका–३ का २१ वर्षीय रुपेन्द्र लामा कारागार चलान भएका छन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश तीर्थराज केसीको बुधबारको इजलासले उनलाई कारागार पठाउने आदेश दिएको हो। उनी स्थानीय सुष्मा लामाको हत्या गरी शव गाडेको आरोपमा पक्राउ परेका हुन।
२४ फागुनको दिउँसो साढे ४ बजेतिर तारेभीरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा दुई वटा हात मात्रै देखिएको अवस्थामा एउटा शव फेला परेको थियो। शरीरको अन्य भाग पुरिएको अवस्थामा मानिसको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
उक्त शव सुष्माको भन्दै आफन्तले सनाखत गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो। सोही क्रममा ३ चैतमा रुपेन्द्र पक्राउ परेका हुन। सुष्माको एकतर्फी प्रेममा परेका रुपेन्द्रले प्रेम प्रश्ताव अस्विकार गरेको रिसमा हत्या गरेको अनुशन्धानबाट खुलेको थियो।
हत्यापछि बाटोबाट करिब ५० मिटर तल लगेर रुपेन्द्रले शव गाडेका थिए। प्रहरीले रुपेन्द्रको घरबाट शव गाड्न प्रयोग भएको कुटो, कुटो बोक्न प्रयोग गरेको झोला, सुष्माको किताब र मोबाइलसमेत बरामद गरेको थियो ।
२२ माघमा घरबाट कलेज हिडेकी सुष्माको शव एक महिनापछि २४ फागुनमा फेला परेको थियो।