जन्ती लिएर वेहुली लिन हिडेको बस दुर्घटना, तीन जनाको मृत्यु, ५२ जना घाईते

काठमाडौं– दोलखाबाट जन्ती लिएर वेहुली लिन सिन्धुपाल्चोक जाँदै गरेको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ५२ जना घाईते भएका छन्।
दोलखाको सुस्पाक्षमावतीबाट सिन्धुपाल्चोकको पिस्करमा जन्ति लिएर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान करिब साढे ७ बजे सडकबाट १ सय मिटर तल खसेको थियो।
दुर्घटनामा तीन जनाको मृत्यु भएको र ५२ जना घाइते भएको प्रहरीले जनाएको छ। मृतक मध्ये भीमेश्वर नगरपालिका–१ का मानबहादु थामी र शिव श्रेष्ठको सनाखत भएको छ। १ जनाको पहिचान खुल्न बाँकी रहेको घटनास्थलबाट भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले जानकारी दिए।
बिहीबार परेको पानीले सडक बिगारेका कारण बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घाइतेलाई खाडीचौर बजारमा रहेको सिन्धु सदाबहार अस्पतालमा उपचार्थ लाने काम भईरहेको छ।
बस भीरमा भएकोले उद्वार गर्न पनि कठिन भएको छ। बसमा ५५ जना सवार रहेको खुलेको छ।