एलिनाको आलोचना गर्ने आरतीलाई महेश्वरको जवाफः बरु बाँझो खेतबारी खन, उत्पादनमुलक हुन्छ
राजविराज– गायिका एलिना चौहान र विष्णु सापकोटाको जोडी अहिले सामाजिक सञ्जालमा भाईरल छ। हालै विवाह बन्धनमा बाँधिएकी एलिनाले घोप्टो परेर श्रीमान् विष्णु सापकोटाको खुट्टा ढोगेको भिडिओ झनै चर्चामा छ।
भीडीओमा एलिना घोप्टो परेर विष्णुको खुट्टा ढोगिरहेकी छिन् र पतिसँग पैसाको डिमाण्ड गरिरहेकी छिन्। २ मिनेटसम्म खुट्टामा निधार जोडेर उनले पतिसँग गरेको पैसाको वार्गेनिङ अहिले आलोचनाको केन्द्रमा छ।
खासमा विवाहका प्रकृयाहरु मध्ये संस्कार मान्ने क्रममा गरिएको यो कृयाकलापमा रमाईलो मिसाउन खोजेको भीडीओमा स्पष्ट देख्न सकिन्छ। तर, महिलावादी अभियन्ता आरती चटौतले उक्त दृश्यको कडा आलोचना गरेपछि यो यतिबेला बहसको रुपमा अगाडि आएको छ।
टेलिभिजन पत्रकारसमेत रहेकी चटौतले एलिनाले पति विष्णुको खुट्टा ढोगिरहेका तस्बिर सेयर गर्दै ‘समाजवाद उन्मुख समावेशी लोकतन्त्रको नमुना दृश्य’ भनी कटाक्ष गरेकी छन्। ‘यो दृश्य पितृसत्ताले महिलालाई दास नै मान्छ र आजको समाजवाद उन्मुख समावेशी लोकतन्त्रमा समेत यो कुसंस्कार, शिक्षित भनिएकामा समेत उस्तै गरी छ भन्ने दरिलो उदाहरण हो’ चटौतले लेखेकी छन् ‘अनि हरेक पक्षबाट महिलाको हैसियत नै सशक्त भए पनि पुरुष मात्र पुरुष भएको कारणले ‘भगवान्न’ नै हुन्छ भन्ने परम्परागत गलत सोच कहीँ कसैका लागि थप सिकाइ नबनोस्, यो हाम्रो सरोकारको विषय बन्नुपर्छ!’
कतिपयले भने यसलाई परम्पराको रुपमा लिएर एलिना र विष्णुको समर्थन गरेका छन्। ‘विवाह आफैमा एक परम्परा हो, त्यसैमा उनीहरुले रमाईलो गर्न खोजे।’ एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन–‘यात परम्परा, संस्कार केही मान्दिन भनेर हिड्नु पर्यो। नत्र यस्ता कुराको विरोध छोड्नु पर्यो।’
महेश्वर आचार्य नामका फेसवुक प्रयोगकर्ताले त चटौतलाई अर्काको निजी जिवनमा पसेर आलोचना गरेको आसयमा जवाफ दिएका छन्। ‘बुढा बुढीले के के गर्छन् सबै कुरा चियो चर्चो गर्ने हो भने के के हेर्नुपर्छ होला? मेरो विचारमा कामै नपाएकाहरु यस्ता प्राइभेट झिना मसिना कुरामा चर्चा गरेर समय बिताउँछन्। बरु बाँझो खेतबारी खन। त्यो उत्पादनमुलक हुन्छ।’