पत्रकार यादवको हत्या भएको आशंका, १५ दिनअघि ‘ज्यान मार्ने धम्की आएको’ भन्दै दिएका थिए निवेदन

जनकपुर– ११ वैशाखमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको भनिएका धनुषाका पत्रकार २८ वर्षीय विनयकुमार यादवको हत्या भएको आशंका वढेको छ। उनले घट्नाको १५ दिनअघि ‘आफूलाई ज्यान मार्ने धम्की आएको’ भन्दै प्रहरी कार्यालयमा निवेदन दिएकोसमेत खुलेको छ।

धनुषाकै वीरेन्द्रकुमार यादवले ‘जीपले ठक्कर दिएर ज्यान मारिदिन्छु’ भन्दै धम्की दिइरहेको उल्लेख गरेर यादवले इलाका प्रहरी कार्यालय, जनकपुरधाममा निवेदन दिएका थिए। त्यसको १५ दिनभित्रै ११ वैशाखमा उनको मृत्यु भएको थियो।

रेडियो धनुषाधामका सञ्चालक समेत रहेका यादवले चलाइरहेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा यादवको मृत्यु भएको प्रहरीले बताएको थियो।

मोटरसाइकल पछाडि बस्ने मृतकका छिमेकी ३० वर्षीय लक्ष्मीनारायण यादव समान्य घाइते भएका थिए। तर, पछाडि बसेको भनिएका लक्ष्मीनारायणले नै मोटरसाइकल चलाइरहेको दुर्घटना हुनुभन्दा केहिपरको सिसी टिभी फुटेज फेला परेको छ।

मृतक विनयकुमारको परिवारले भने दुर्घटनालाई शंकास्पद भन्दै गम्भीर छानबिन गर्न माग गरेको छ। मृतक विनयका भाइ शंकर यादवका अनुसार, साथमा रहेका लक्ष्मीनारायणले फेरेको बयान र दुर्घटनापछि उनले ज्यान मार्ने धम्की दिएका वीरेन्द्र यादवलाई तीनपटक फोन डायल गरेको देखिएकाले घट्ना रहस्यमय र शंकास्पद छ।

उनका अनुसार ४ बजेर १७ मिनेटमा लक्ष्मीनारायणले वीरेन्द्रका भाइ धीरेन्द्रलाई तीनपटक फोन गरेको लक्ष्मीनारायणको मोबाइलमा कल हिस्ट्री भेटिएको छ। परिवारका सदस्यहरुका अनुसार, विनय दिउँसै घरबाट लक्ष्मीनारायाणसहित निस्किएका थिए भने राति लालगढको होटल मंगेश एण्ड गेष्टहाउसमा खाजा खाएर फर्किएका थिए।

धनुषाका एसपी भुवनेश्वर तिवारी भने लक्ष्मीनारायणलाई हिरासतमै राखेर विभिन्न कोणबाट अनुसन्धान भईरहेको बताएका छन्। कांग्रेसनिकट पत्रकारहरुको भातृ संगठन नेपाल प्रेस युनियन, धनुषाले विज्ञप्ति जारी गर्दै अहिलेसम्मको प्राप्त प्रमाणले घटना शंकास्पद रहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट