सहकारी ठगी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि राप्रपाकी सांसद गीता बस्नेत फरार

नवलपुर– सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद (प्रतिनिधि सभा सदस्य) गीता बस्नेत फरार भएकी छिन्। पक्राउ पूर्जी जारी भएको ४८ घण्टा बितिसक्दा पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन।

नवलपुर प्रहरीले वस्नेतलाई पक्राउ गर्न प्रहरी परिचालन गरे पनि अहिलेसम्म फेला पार्न नसकेको जनाएको छ। नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा बस्नेतसहित १४ जनाविरुद्ध मंगलबार नै पक्राउ पुर्जी जारी भएको थियो।

भाग्न सक्ने आशङ्कामा पक्राउ पुर्जी जारी गरिएका अन्य १३ जनाको नाम सार्वजनिक गरेको छैन। जिल्ला प्रहरी कार्यालय नवलपुर र गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयका वित्तीय विश्लेषक तथा छानबिनकर्ता निर्मल गौतमले अनुसन्धान गरेको छानबिन प्रतिवेदनले सांसद बस्नेतको संरक्षणमा रकम हिनामिना गरेको तथ्य खुलेको थियो।

अनुशन्धानका क्रममा आफ्ना ज्वाइँ नगेन्द्रबहादुर रिमाल र अन्य साथीमार्फत वस्नेतले चितवनको सनराइज बचत तथा ऋण सहकारी संस्था, बर्दियाको नमस्ते बचत तथा ऋण सहकारी र नवरपुरको छिपछिपे उपभोक्ता सहकारी संस्थाबाट रकम निकाली हिनामिना गरेको देखिएको छ।

सांसद बस्नेत समेतको लगानीमा बर्दियाको गुलरियामा सञ्चालित कृष्णसार रिसोटमा नवलपुर, चितवन र बर्दियाका सहकारीको बचत लगानी गरी हिनामिना गरिएको रजिष्ट्रार कार्यालयको अनुसन्धानले देखाएको छ। ३ वटा सहकारीबाट बर्दिया स्थित बस्नेतकै जग्गामा बनेको कृष्णसार रिसोर्टमा विनाधितो ऋण प्रवाह भएको पाइएको छ।

सांसद बस्नेतका छोरी ज्वाइँ एवं छिपछिपे सहकारीका सचिव, सनराइज र नमस्ते सरकारीका अध्यक्षसमेत रहेका रिमालले २१ कट्ठामा भएको रिसोर्टको संरचना तयार गर्नेक्रममा सहकारीबाट रकम ल्याएर लगानी गर्ने र रिसोर्टबाट प्राप्त हुने नाफा सहकारीमा राख्ने भनी सनराइजबाट ७ करोड र नमस्तेबाट ७ करोड रमक लगेको खुलेको छ।

छिपछिपे सहकारीमा सञ्चालक समिति र कर्मचारीको मिलेमतोमा बचतकर्ताको १६ करोड ५८ लाख ९२ हजार २ सय ६१ रुपियाँ हिनामिना भएकाले असुलउपर गरी क्षतिपूर्ति भराउनु पर्ने राय रजिष्ट्रार कार्यालयले दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट