परपुरुषसँगको सम्वन्ध भुल्न नसकेपछि पतिले नै गरे अनिशाको हत्या, कल रेकर्डबाट खुल्यो अनैतिक सम्वन्ध

काठमाडौं– ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ घर भइ काठमाण्डौ महानगरपालिका–६, भूगोलडाँडामा डेरा गरेर वस्ने ३५ वर्षीय सन्तोष परियार बुधबार प्रहरी वृत्त बौद्ध पुगे। त्यहाँ पुगेपछि उनले ‘मैले श्रीमतीको हत्या गरें, मलाई पक्राउ गर्नोस’ भन्दै सुनाए।

प्रहरी आश्चर्यमा पर्यो। अपराध गरेपछि प्रहरीबाट कसरी बच्ने भन्ने उपाय खोज्दै अधिकांश मानिस भाग्ने गरेको देखेका प्रहरीलाई ती युवकले भनेको कुरामा खासै विश्वास लागेन। रक्सीले मातेर उडन्ते कुरा गरेको हुन सक्ने आशंका प्रहरीले गर्यो।

तर, हत्या जस्तो कुरामा प्रहरीले खेलाँची गर्न पनि सकेन। त्यसैले कार्यालय प्रमुख डीएसपी राजु पाण्डेले उनलाई पनि गाडीमा राखेर भुगोलडाँडा स्थित उनको डेरामा प्रहरी टोली खटाए। नभन्दै उनकी श्रीमती ३५ वर्षीया अनिशा चाहार मृत अवस्थामा ओछ्यानमा लडिरहेकी थिईन।

प्रहरीका अनुसार श्रीमतीको अर्कै केटासँग सम्वन्ध रहेकोे थाहा पाएपनि सन्तोषले अनिशाको हत्या गरेको खुलेको छ। अझै आश्चर्यको कुरा उनीहरुको यो दोस्रो र प्रेम विवाह हो। सन्तोष र अनिसाले २०७२ सालमा प्रेम विवाह गरेका थिए। दुवै जनाको पहिलो विवाह टुटेपछि सहमतिमै दोस्रो विवाह गरेको खुलेको छ।

विवाहपछि अनिसालाई बौद्धमा राखेर सन्तोष वैदेशिक रोजगारीका लागि कतार गए, तर सोचे जस्तो काम नपाएपछि नेपाल फर्किए र फेरि मलेसिया गए। मलेसिया बसेर उनी हालै नेपाल फर्किएका हुन।

नेपाल फर्किएपछि सुरुसुरुमा दुवैको सम्बन्ध राम्रै थियो। तर, केही दिनदेखि उनलाई श्रीमतीमाथि शंका लाग्न थाल्यो। मोबाइलमा लुकेर कुरा गर्ने तथा शंकास्पद ब्यवहार देखाउन थालेपछि उनले अनिशालाई त्यो विषयमा सोधपुछ गरे। मोवाईलमा आउने फोनका विषयमा पनि सोधे। अनिशाले चित्तवुझ्दो जवाफ दिईनन्।

त्यसपछि सन्तोषले अनिसाको मोबाइल फोनमा अटो रेकर्ड सिस्टम एक्टिभ गरिदिए, जुनकुरा अनिशालाई थाहा थिएन। यसैबीचमा सन्तोषले श्रीमतीको फोन चेक गरे। नभन्दै एउटा नम्वरमा उनलाई शंका लाग्यो, उनले त्यसको कल रेकर्ड खोजेर सुने। करिब चार मिनेटको उक्त संवादबाट उनको आशंका पुष्टि भयो। श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेको सन्तोषले थाहा पाए।

त्यसपछि उनीहरुको झगडा सुरु भयो। त्यसपछि उनले लात्ती र मुड्कीले अनिशामाथि प्रहार गरे। चोटका कारण अनिशाको मृत्यु भएको खुलेको छ। मृतकको शरीरभरी कुटपिटको निलडाम देखिएको छ।

काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले श्रीमान–श्रीमतीकै कारण हत्या भएको खुलेको बताएका छन्। उनका अनुसार उनीहरू दुवैले अत्यधिक मदिरा समेत सेवन गर्ने गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट