१५ दिनअघि नै बनेको थियो दम्पत्तिको हत्या योजनाः अघिल्लो दिन आधा घण्टा गफ गरेर फर्किए, भोलीपल्ट घाँटी रेटेर मारे

पर्वत– पर्वतको जलजला गाउँपालिका–२ माझफाँटस्थित दहका ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६७ वर्षीया गमला घर्ती क्षेत्रीको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। घट्नाको १ महिनापछि प्रहरीले मंगलबार उनीहरुलाई पक्राउ गरेको हो।

लुटपाटकै योजना अनुसार दम्पत्तिको हत्या गरेका जलजला गाउँपालिका–२ नेपाने घर भएका ३२ वर्षीय कृष्णबहादुर विश्वकर्मा र कुश्मा नगरपालिका–२ खुर्कोट घर भई हाल जलजला गाउँपालिका–२ बौरमा बस्दै आएका ३२ बर्षकै दीपक दर्जी पक्राउ परेका हुन।

करिव १५ वर्षदेखि बौरमा बस्दै आएका दीपक घटना हुनुभन्दा १ साताअघि भने पारिवारिक कलहले श्रीमती र छोरा छोरीसहित पोखरा महानगरपालिका–८ नयाँ बजारमा डेरा सरेका खुलेको छ। दुवै जना मिलेर गत १९ चैतमा दम्पत्तिको हत्या गरेर गहना लुटपाट गरेका थिए।

प्रहरीले ‘अपरेसन लालीगुराँस’ नाम दिएर हत्या प्रकरणको अनुशन्धान सुरु गरेको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय पर्वत र म्याग्दीको संयुक्त टोली अनुशन्धानमा खटियो।

तर, लामो समयसम्म अनुशन्धान टोलीले हत्याराको सुराक फेला पार्न सकेन। जसका कारण धेरै जनासँग सोधपुछ गर्नु परेको र धेरै कोणबाट अनुशन्धान गर्नु परेको प्रहरीले जनाएको छ। अनुशन्धानका क्रममा करिब २ हजार भन्दाबढि व्यक्तिसँग प्रत्यक्ष रूपमा सोधपुछ गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी खुमलाल भुसालका अनुसार ‘डग स्निफिङ’ सहित विशेषज्ञ चिकित्सकहरूको पनि प्रयोग गरियो। गहना बनाउने कारखाना, खराब आचरण भएका व्यक्ति, गम्भीर अपराधमा सजाय पाएर छुटेका व्यक्तिहरूका बारेमा पनि गहिरो अनुशन्धान गरिएको थियो।

नभन्दै दीपक र कृष्ण पक्राउ परे। प्रहरीका अनुसार कमजोर आर्थिक अवस्था भएका र लागू औषधको दुर्व्यसनीमा फसेका उनीहरुबीच करिव ५ वर्षअघि जिप चलाउने क्रममा चिनजान भएको थियो। वैदेशिक रोजगारीमा गएर थाकेर फर्किएपछि गाउँमै बस्न थालेका उनीहरुले आर्थिक उपार्जनको उपाय नदेखेपछि लुटपाटको योजना बनाएको अनुशन्धानमा खुलेको छ।

मृतक सुर्य र गमलाको घरमा लुटपाट गर्ने योजना उनीहरुले १५ दिन अगाडि नै बनाएका थिए। सोही योजना अनुसार १८ चैतमा दीपक पोखराबाट जलजला पुगे। कृष्णसँग भेट गरेपछि कालीगण्डकी नदीको किनारमा बसेर मदिरा सेवन गरे। अनि मृतक दम्पतीको घरतर्फ लागे। करिव आधि घण्टा दम्पत्तिसँग कुरा गर्दै उनीहरुले भौगोलिक अवस्थालगायतको जाँच गरे।

त्यसदिन उनीहरु कृष्णकै घरमा बास वसे। भोलीपल्ट खाना खाएर लुगाफाटा, हँसिया, माछा मार्ने बल्छी लगायतका सामग्री बोकेर कालीगण्डकीमा पुगे। निकैवेर त्यता वसेपछि उनीहरु उकालो चढे। करिव ८ वजेसम्म जंगलमा लुकेर मदिरा सेवन गरे। साढे आठ बजे दम्पत्तिको घर नजिकै पुगे। सूर्यबहादुर घर अगाडि डढेलो निभाउँदै थिए। आगो निभाईसकेपछि सवैजना घरतर्फ लागे। त्यसपछि उनीहरु चुरोट किन्ने वहानामा सूर्यबहादुरको घरमा पुगे।

चुरोट किने अनि पैसा पनि तिरे। त्यसपछि टाउकोमा काठले हानेर सुर्यलाई लडाए। उनले गुहार मागेपछि श्रीमती गमला आउनै लागेकी थिईन। दीपकले लात्तीले हानेर घरको ढोका फुटाएर लात्ती र लाठीले टाउकोमा हानेर लडाए। त्यसपछि हँसियाले घाँटी रटेर हत्या गरे। त्यसपछि सूर्यबहादुरको टाउको र घाँटीमा पनि हँसिया प्रहार गरेर हत्या गरे।

त्यसपछि गहना, पसलमा रहेको नगद र रिचार्ज कार्ड लिएर उनीहरु हिड्दै पर्वत र बागलुङको सिमाना मालढुङ्गा पुगेर पोखरा जाने बस चढे। पोखरामा उनीहरुले गहना र नगद बाँडफाँट गरे। कृष्णले आफ्नो भागमा परेको सुनका गहना माइला बुबा पर्ने कर्णबहादुर बिकलाई गाल्न लगाएर बागलुङका परशुराम बिकलाई बेचेको खुलेको छ।

प्रहरीले दीपक र कृष्णसहित लुटिएको सुनको कारोबारमा संलग्न रहेको आरोपमा कर्णबहादुर र पर्शुरामलाई पनि पक्राउ गरेको डीएसपी भुसालले बताएका छन। उनीहरु विरुद्ध कुनकुन मुद्दा चलाउने भन्ने विषयमा अनुशन्धान भईरहेको उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट