सुधार केन्द्रमा मृत्यु भएका युवकको कुटेर हत्या गरेको प्रहरीको निष्कर्ष, सञ्चालक फरार

काठमाडौं– कैलालीको एक सुधार गृहमा भाग्न खोल्दा लडेर मृत्यु भएको भनिएका युवकको कुटेर हत्या गरिएको अनुशन्धानले देखाएको छ। घोडाघोडी नगरपालिका–४ को नयाँ बाटो पुनर्स्थापना केन्द्रमा रहेका २५ वर्षीय सुनिल शाहीको हत्या भएको निस्कर्ष प्रहरीले निकालेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा शाहीको पुनर्स्थापना केन्द्रमै कुटपिटपछि मृत्यु भएको खुलेको हो। इलाका प्रहरी कार्यालय सुखडमा पुनर्स्थापना केन्द्रका सञ्चालक, अध्यक्ष र पुनर्स्थापना केन्द्रमा राखिएका १७ जनाविरुद्ध जाहेरी परेको छ।

डीएसपी दिपेन्द्रकुमार पालले मृतकका परिवारले दिएको किटानी जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए। केन्द्रका सञ्चालक बल खत्री, रोशन ऐर, सञ्चालक समितिका अध्यक्ष होम तामाङसहित १७ जनाविरुद्ध जाहेरी परेको उनको भनाई छ।

केन्द्रमा रहेका विपुल सापकोटा, सुर्दशन अधिकारी, भूपेन्द्र खड्का, विनोद शाही, कमल रिजाल, गौरव आचार्य, नवीन रावल, नवराज चौधरी, कृष्ण तिमिल्सिना, सुमन भट्ट, आकाश अधिकारी, रोशन पनाडी, दिनेश मन्नी र केन्द्रमा साथीलाई भेट्न गएका मुकेश सुनारका नाममा किटानी जाहेरी दर्ता भएको छ।

प्रहरीका अनुसार १७ मध्ये १६ जना पक्राउ परेका छन्। सञ्चालक रोशन ऐर भने फरार भएका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा शाही मंगलबार दिउँसो पुनर्स्थापना केन्द्रबाट भाग्न खोजेका थिए। त्यस क्रममा उनलाई नियन्त्रमा लिएर पालैपालो कुटपिट गरेको प्रहरीले जनाएको छ।

राति करिब २ बजेको समयमा शाहीको मृत्यु भएको खुलेको छ। लामो समयसम्म घट्ना लुकाउन विभिन्न योजना बनाएर ढिला गरी प्रहरीलाई खबर गरिएको पाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट