ठेक्का कब्जा गर्न प्रतिस्पर्धीलाई मार्ने योजना बनाएर गोली चलाएको घट्नाका योजनाकार पक्राउ

काठमाडौं– ठेक्कापट्टामा विवाद वढेपछि सुर्खेतको वीरेन्द्रनगर–१ का ३९ वर्षीय विनोद गिरीलाई मार्ने योजना बनाएर गोली हानेको घटनाका मुख्य योजनाकार स्थानीय ३३ वर्षीय सन्तोष गिरी पक्राउ परेका छन्।

घटनाको ८२ दिनपछि गिरीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार भक्तपुरको सुर्यबिनायक नगरपालिका–८ बाट पक्राउ गरेको हो। उनलाई शुक्रवार जिल्ला प्रहरी कार्यालय सुर्खेतको जिम्मा लगाईएको छ।

१२ फागुन ०८० मा भे ५ प ६०६१ नम्बर मोटर साइकलमा आएका भारतीयसहितको टिमले गिरी सवार बाग्मती प्रदेश ०१–०२९ च ७२६४ नम्बरको कारमा वीरेन्द्रनगर–३ स्थित गैरीगाउँ बाटोमा गोली चलाएको थियो। मोटरसाइकलमा आएका दुईमध्ये पछाडि बसेका भारतीय सुटरले गोली हाने। गोली सिसामा लागेर फुट्यो। गिरीलाई गोली लागेन। बाइक र गाडी एक आपसमा ठोक्किएपछि सुटरसहित दुई जना सडकमा ढलेका थिए।

कटुवा पेस्तोल र बाइक छोडेर भाग्न थालेका सुटरलाई विनोदका साथीहरूले नै समाए। १३ फागुनसम्ममा प्रहरीले भारतको उत्तर प्रदेशस्थित बिजनौर दादानगरगञ्जका १९ वर्षीय रोहित राजपूत, कैलालीको गौरीगङ्गा नगरपालिका–२ का १८ वर्षीय मोटरसाइकल चालक इन्द्र विक सोही ठाउँका १८ वर्षीय भरत भुल र वीरेन्द्रनगर नगरपालिका–४ का ३७ वर्षीय राजन गिरीलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीको अनुसन्धानले सन्तोष नै यो घट्नाका मुख्य योजनाकार भएको खुलेको थियो। सन्तोषले भारतीय सुटरलाई सुर्खेतमा ल्याएर होटेलमा बास बसाएको प्रहरीको भनाई छ। पीडित पक्षले १३ फागुन ०८० मा सन्तोषसहित ९ जना विरुद्ध जाहेरी दिएका थिए। ति मध्ये हालसम्म ५ जना पक्राउ परेका छन् भने ४ जना अझै फरार छन्। प्रहरीका अनुसार रोहित भारतीय सुटर, विक मोटरसाइकल चालक र भूल योजनाका सहयोगी हुन।

जिल्ला अदालत सुर्खेतका न्यायाधीश मनोजकुमार श्रेष्ठको ३ वैशाख ०८१ को इजलासले चारै जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो। प्रहरीका अनुसार विनोद र सन्तोष दुवै ठेक्कापट्टा (निर्माण व्यवसाय र काठको ठेक्कापट्टा) मा संलग्न थिए भने राजनीति (नेपाली कांग्रेसको तरुण दलमा आबद्ध) मा पनि जोडिएका थिए। सुरुवाती दिनमा उनीहरु दुवै मिलेरै काम गरेको देखिएको छ।

तर, ठेक्कापट्टाकै कारण उनीहरुको दुश्मनी सुरु भएको हो। यो घट्ना ०७८ सालदेखि नै जोडिएर आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी वीरेन्द्र वीर विश्वकर्माले बताए। ११ फागुन ०७८ मा वीरेन्द्रनगरको कालिन्चोकमा सन्तोषमाथि खुँडा प्रहार भएको थियो। उक्त घट्ना विनोदले नै गराएको सन्तोषको आरोप थियो। उनले विनोद पक्षका सुशील रावल, महेश खत्री, सुनिल वादी, रिपेस मस्र्याङी, गगन बुढा, रुपेस सेन ठकुरी र हेमन्त नेपालीको नाममा जाहेरी दिए। तर, उनीहरुलाई कारवाही भएन।

उनले विनोद गिरीलाई मुख्य योजनाकारको रूपमा उल्लेख गरे पनि विनोदले भने घटनामा आफनो संलग्नता अस्विकार गरे। यसपछि उनीहरू सम्बन्ध चिसिँदै गयो। त्यसकै परिणाम बदला लिन सन्तोषले भारतबाट सुटर झिकाएर विनोदको हत्याको योजना बनाए। विनोद चढेको गाडी र सुटर चढेको मोटरसाइकल ठोक्किँदा गोली चले पनि उनलाई लागेन।

सुटरसहितका शङ्कास्पद आरोपीहरू समातिएपछि अनुसन्धान सन्तोष केन्द्रित भयो। तर, उनी पक्राउ परेका थिएनन्। पक्राउ परेपछि भने ‘खुँडा हानेर हत्या प्रयास गर्दा पनि कारबाही नभएपछि बदला लिन गोली हान्न लगाएको’ उनले दाबी गरेको प्रहरीस्रोतले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट