विपक्षी सांसदलाई वेलमै घेरेर प्रधानमन्त्रीले लिए विश्वासको मत, कांग्रेसलाई चेतावनीः यसको मूल्य चर्को पर्नेछ

काठमाडौं– विपक्षी दल नेपाली कांग्रेससहितका सांसदहरुलाई वेलमै घेरावन्दी गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएका छन्। आजको बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए।

सभामुखले बस्न आग्रह गरे पनि उनीहरुले मानेनन्। बरु वेल घेराउ गर्दै नाराबाजी गरे। उनीहरुले नाराबाजी जारी राखेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद बैठक स्थगित गरे। त्यसपछि सुरु भएको बैठकमा पनि नाराबाजी रोकिएन।

यसैबीचमा सभामुख घिमिरेले विश्वासको मतको प्रस्ताव राख्न प्रधानमन्त्री दाहाललाई अनुमति दिए। नेपाली कांग्रेसका सांसदहरूले बेल घेराउ र नाराबाजीबीचमै प्रधानमन्त्री मर्यादा पालकको घेरामा रोष्टममा पुगे। प्रधानमन्त्रीले प्रस्ताव पेश गरेपछि एमाले नेता विष्णु पौडेलले प्रस्तावको पक्षमा धारणा राखेका थिए।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले ‘तपाईंहरु (नेपाली कांग्रेस) ले आज बहुत गलत गर्नुभयो भन्ने मलाई लागेको छ ।’ भन्दै कांग्रेसलाई चेतावनी दिए। संसद्मा देखाएको व्यवहार गलत भएको भन्दै उनले यसको मूल्य चर्को पर्ने चेतावनी कांग्रेसलाई दिए।

त्यसपछि मतविभाजन हुँदा प्रतिनिधि सभामा उपस्थित १५८ सांसद मध्ये विश्वासको मतको पक्षमा १५७ मत परेको छ। विपक्षमा शून्य र मत दिन्नँ भन्ने पक्षमा १ मत परेको सभामुख घिमिरेले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट