पूर्वशिक्षक विरुद्ध बलात्कारको उजुरी दिँदा गोली खाएकी उदयपुरकी किशोरी अस्पतालमै बन्धक

दमक– १५ दिनअघि झापाको दमकमा पूर्वशिक्षकको गोली प्रहारबाट घाईते भएकी उदयपुरकी एक किशोरी उपचार खर्च तिर्न नसक्दा अस्पतालमै वन्धक बनेकी छिन्।

दमकको लाइफलाइन अस्पतालमा उपचाररत उनलाई अस्पतालले ३ दिन अघि नै डिस्चार्ज दिएको थियो। तर, उपचारका क्रममा लागेको खर्च तिर्न नसक्दा उनी डिस्चार्ज हुन पाएकी छैनन्। गत २१ वैशाखमा उदयपुरकी प्रियसना (नाम परिवर्तन) माथि दमकको ज्येष्ठ नागरिक भवन अगाडि गोली प्रहार भएको थियो।

कक्षा १२ को परीक्षा दिएर निस्किदै गरेकी उनलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेका थिए। गर्धनमा प्रहार गरिएको गोली उनको पेटमा लागेको थियो। यादवको बारेमा घाईते प्रियसनाले नै प्रहरीलाई जानकारी दिएकी थिईन। अस्पतालको वेडबाट बोलेको उनको भीडीओ सामाजिक सञ्चालनमा आएको थियो।

प्रियसनालाई प्रहरीले तत्कालै स्थानीय लाईफलाईन अस्पतालमा भर्ना गराएको थियो। गोलिको छर्रा लागेर उनको आन्द्रामा ७ वटा प्वाल परेको थियो। उपचारपछि उनलाई अस्पतालले डिस्चार्ज दिएको छ। तर, उपचारका क्रममा करिब ६ लाख बिल भएको र उक्त रकम तिर्न नसक्दा डिस्चार्ज हुन नपाएको उनकी दिदीले बताईन।

ऋणपान गरेर करिब डेढ लाख रुपैयाँ वुझाएपनि बाँकी रकम तिर्न असमर्थ भएको उनको भनाई छ। उनका अनुसार उपचार खर्च तिर्न नसक्दा अस्पतालले वहिनीलाई घर जान बिदा दिएकै छैन। दमकमा दिदीसँगै डेरा गरेर वसेकी प्रियसनाले करिब २ वर्ष अघि शिक्षक यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय उदयपुरमा बलात्कारको जाहेरी दिएकी थिइन्।

जाहेरीपछि जिल्ला प्रहरी कार्यालयले यादवविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। त्यसयता फरार उनले मुद्दा फिर्ता लिन नमान्दा प्रियसनालाई ज्यान मार्ने उद्देश्यले गोली प्रहार गरेको देखिएको झापा प्रहरीले जनाएको छ। मोटरसाईकलमा आएका यादवले ‘तँ, तेरो दिदी, र उजुरी दिन लगाउनेलाई नमारी म जेल जान्न’ भन्दै गोली चलाएका थिए।

गोली प्रहारपछि फरार यादवलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट