बालेन्द्रको धम्कीपछि पक्राउ परेका ४ जना चालकलाई प्रहरीले छोड्यो, यस्तो छ मेयरको अर्को चेतावनी
काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेलाई धम्क्याएपछि प्रहरीले पक्राउ गरेका महानगरका ४ जना सवारी चालक रिहा भएका छन्।
महानगरपालिकाको फोहोर बोक्ने गाडीका चारै जना चालकलाई प्रहरीले आजै पक्राउ गरेको थियो। जानकारी अनुसार काठमाडौं उपत्यकाको फोहोर बिसर्जन हुँदै आएको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गरे।
बलामी युवा समाजले बञ्चरेडाँडामा रोजगारीको माग राखेर शनिबारदेखि नै फोहोर विसर्जनमा अवरोध गरेको थियो। उनीहरुले फोहोर लिएर गएका ४ वटा गाडीमा क्षति पनि गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ।
त्यसपछि महानगरपालिकाले अवरोध खुलाउन प्रहरी÷प्रशासनसँग सहयोग माग्यो। तर, जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला प्रहरी कार्यालय नुवाकोटले सहयोग नगरेको महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्साल बताउँछन्।
त्यसपछि सोमबार विहान प्रधानमन्त्री र गृहमन्त्रीलाई जानकारी गराएरै महानगरपालिकाले विरोध स्वरुप फोहोर बोकेका ४÷४ वटा गाडी माओवादी पार्टी कार्यालय पेरिस डाँडा र राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बनस्थली पठायो।
रास्वपा पार्टी कार्यालयतर्फ गएका ट्रकलाई प्रहरीले बाटैमा रोक्यो भने पेरिसडाँडा गएका ट्रकका चालक भने पार्टी कार्यालयको गेटमै पक्राउ परे। त्यसपछि मेयर बालेन्द्र साहले फेसबुकमा स्टाटस लेखे– ‘भ्रष्टलाई समाउन सक्नुभएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ यो सरकारले। जबसम्म चालकहरूलाई ससम्मान रिहा गरिँदैन तबसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालय र नेताका घरको फोहोर उठ्दैन। को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छाडिदैन!’
बालेन्द्रको यो स्ट्याटस लगत्तै प्रहरीले चारै जना ट्रक चालकलाई रिहा गरेको छ। भने बञ्चरेडाँडाको अवरोध पनि हटेको लम्सालले बताए। मेयर साहले पनि चालक रिहा भएको फेसवुक मार्फत जानकारी गराएका छन्।
‘फोहोरको गाडी चलाउने चालकलाई स–सम्मान छोडेको खबर पाए। जो कोहीले यत्ति बुझ्नुहोला – पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला। तर नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ। त्यसमा कसैले सम्झौता गर्न पाइँदैन। काठमाण्डौ महानगर यसमा संवेदनशील छ।’ उनले लेखेका छन्–‘अझ आफ्नो कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन। बुझेर कदम चाल्नुहोला।’