हावाहुरीले उडाएको जस्तापाताले लागेर १०७ वर्षीय वृद्धको मृत्यु

वीरगन्ज– पर्साको विन्दबासिनी गाँउपालिका–२ गर्दौलमा विहिबार राती हावाहुरीले उडाएको जस्तापाताले लागेर १०७ वर्षीय वृद्धको मृत्यु भएको छ।

हावाहुरीले उडाएर ल्याएको जस्ताले चोट लागेर १०७ वर्षीय वृद्ध गुदेरी साहको मृत्यु भएको पर्साका डीएसपी केशर न्यौपानेले जानकारी दिए।

आफ्नै घरको पिढीमा बसिरहेका बेला छिमेकीको घरको छानाबाट उडेर आएको जस्तापाताले साहलाई लागेको थियो। जस्तापाताले लागेको चोटले उनी गम्भीर घाइते भएका थिए। घाइते साहलाई उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो हस्पिटलमा लाने क्रममा बाटोमै मृत्यु भएको डीएसपी न्यौपानेले जानकारी दिए।

यस्तै पर्साकै बहुदरमाई नगरपालिका वडा नम्बर ५ स्थित एनसेलको टावर हावाहुरीले ढलेको छ। टावरले च्यापिएर एक पुरुष गम्भीर घाइते भएका छन्। उनको वीरगन्जको नारायणी अस्पतालमा उपचार भईरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट