विवाहको ९ महिना नपुग्दै विदेश हिडेका युवाको दुवई पुगेको ३ महिनामै मृत्यु

काठमाण्डौं– परिवारको सुख र उज्वल भविष्यका लागि विवाह गरेको ९ महिनामै विदेशिन बाध्य भएका गुल्मीका एक युवकले घर छोडेको तीन महिनामै ज्यान गुमाएका छन्।

रेसुङ्गा नगरपालिका–१२, उर्लेनी लामिचौरका २६ बर्षीय अनिल बिकको १० साउनमा दुवईमा भएको सडक दुर्घटनामा परी मृत्यु भएको छ। उनले गत वर्ष असारमा धुर्कोट गाउँपालिका–२ जुुम्लादीकी २४ बर्षीया सरस्वता बिकसँग प्रेम विवाह गरेका थिए।

विवाहको ९ महिनापछि गत २२ बैशाखमा उनी वैदेशिक रोजगारका लागि घरबाट हिडे। बेलावखत फोन गरेर सरस्वतालाई ‘केही समय दुःख गरेर भविष्य उज्वल बनाउने’ रंगिन सपना देखाउँथे र हौसला दिन्थे। तर, भाविको लेखा भने झै पैसा कमाउँन भनेर दुबई पुगेको ३ महिना नपुग्दै दैवले उनको चोला नै उठायो।

सानै उमेरदेखि बाबुआमाको मायाँबाट वन्चित भएका अनिलले २६ वर्षको कलिलै उमेरमा आफुले पनि ज्यान गुमाउनु पर्यो। यतिमात्र होईन, २४ वर्षकी श्रीमतीलाई समेत एक्लो बनाए। स्थानीयका अनुसार अनिल जन्मेको पाँच महिनापछि नै घर नजिकैको भिरबाट लडेर बुबाको ज्यान गयो।

त्यसको करिव ३ बर्ष पुग्दा नपुग्दै आमाले पनि छोडेर गएपछि उनी सानैमा टुहुरो भए। ५ भाई मध्येका कान्छा अनिलको स्याहार जेठा दाजु यमबहादुरले गरे। दाजुसँगै हुँदै परिश्रम गर्न सिकेका उनी पछि मजदुरी गर्दै ट्याक्टर चालक बने।

तर, बिबाह गर्दा लागेको ऋण उनका लागि भारी भयो। ऋण तिर्न र परिवारको भविष्यका लागि जोहो गर्न उनी विदेश जाने योजनामा पुगे। तर, उनको सपना दुवईमै अस्ताएको स्थानीयहरु बताउँछन्। उनको मृत्युको खवरसँगै श्रीमती अर्धचेत छिन्। अनिलको शव विदेशबाट झिकाउने पहलसम्म नभएको भन्दै स्थानीयले गुनासो गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट