शेख हसिनाले देश छोडेको फाईदा युनुसलाई, भ्रष्टाचार मुद्दामा सफाई, अरु सबै अपराध माफ !

काठमाण्डौं– बंगलादेशमा अन्तरिम सरकार प्रमुख भएपछि मोहम्मद युनुसलाई सम्पूर्ण मुद्दाबाट सफाई दिईएको छ। उनीविरुद्ध बंगलादेशको अवकाश नियम उल्लंघन गरेको आरोप लागेको थियो। युनुसविरुद्ध दर्जनौं मुद्दा दायर गरिएका थिए।
बंगलादेशी पत्रिका ‘द डेली स्टार’को समाचार अनुसार ढाकाको विशेष अदालतले युनुस, अन्तरिम सरकारका स्वास्थ्य सल्लाहकार नूरजहाँ बेगम र अन्य १२ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो।
यसअघि शनिबार बंगलादेशको सर्वोच्च अदालतका प्रधानन्यायाधीश ओबैदुल हसनले आफ्नो पदबाट राजीनामा दिएका थिए। आन्दोलनरत विद्यार्थीहरूले सर्वोच्च अदालत घेराउगरी उनको राजीनामा माग गरेपछि उनले राजीनामा दिएका हुन्। उनको राजिनामा लगत्तै सैयद रेफात अहमदलाई प्रधानन्यायाधीश नियुक्त गरिएको थियो।
बंगलादेशको भ्रष्टाचार विरोधी आयोगले बंगलादेशको फौजदारी प्रक्रिया संहिताको धारा ४९४ अन्तर्गतको मुद्दा फिर्ता लिन अदालतमा निवेदन दिएको थियो। सैयद रेफात अहमद प्रधानन्यायाधीश नियुक्त भए लगत्तै अदालतले त्यो निवेदन स्वीकार गरेको हो।
अन्तरिम सरकारको सपथ ग्रहणको एक दिनअघि मात्रै ‘ग्रामीण टेलिकम’का अध्यक्ष प्रोफेसर युनुस र निर्देशक अशरफुल हसन, एम शाहजहान र नूरजहाँ बेगमलाई पनि ‘श्रम कानून उल्लंघन’ मुद्दामा सफाइ दिइएको थियो।
उक्त मुद्दामा उनलाई ६ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना समेत गरिएको थियो। ग्रामीण दूरसञ्चार कर्मचारी मुनाफा सहभागिता कोषको करिब २५ करोड २२ लाख हिनामिना गरेको अभियोगमा एसीसीले दायर गरेको मुद्दामा युनुस, नूरजहाँ र १२ जनालाई दोषी ठहर गरिएको थियो।
अदालतले साक्षीहरूको बयान पनि लिनुपर्ने थियो। तर अहिले यो विषय बन्द भएको छ। युनुसले बनाएको ग्रामीण बैंकका गतिविधिमाथि २०११ मा अनुसन्धान शुरू भएको थियो। सो अनुसन्धानपछि युनुसलाई ग्रामीण बैंकको प्रबन्ध निर्देशक पदबाट पनि हटाइएको थियो।