दुर्गा प्रसाईँका कार्यकर्ताले ट्रकमा आगजनी गर्दा घाईते भएका चालकको मृत्यु

दमक– मेडिकल व्यवासायी दुर्गा प्रसाईका कार्याकर्ताले भारतीय ट्रकमा आगजनी गर्दा घाईते भएका चालकको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोड नगरपालिका–६, गिरीबन्धु टिस्टेटस्थित ७ असोजमा ट्रकका आगजनी गरिएको थियो।
घट्नामा जलेर घाईते भएका चालक भारतको इस्लापुरका ४० वर्षीय पोदो रायको उपचारको क्रममा शनिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घाइते राय दार्जिलिङस्थित नर्थ बंगाल मेडिकल कलेजमा उपचाररत थिए।
उनको शव नेपालमा ल्याएर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।
बिर्तामोडबाट काँकरभिट्टातर्फ जाँदै गरेको डब्यू बी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकमा प्रसाईका कार्यकर्ताले रोकेर आगजनी गरेका थिए। चालक रायलाई ट्रकबाट झारेर कुटपिट गर्नुका साथै ट्रकमा पेट्रोल छर्केर आगजनी गरेर फरार भएका थिए।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी खटिएको थियो भने बारुण यन्त्र र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागनीबाट ट्रकको इन्जिनको भाग जलेको थियो भने चालक रायको दाहिने हात, ढाँड र अनुहारमा चोट लागेको थियो।
उनलाई प्राथमिक उपचार गराएर थप उपचारका लागि भारत लगिएको थियो।