कमला नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीनै जना बालकको शव भेटियो

लहान– तीन दिनअघि सिराहाको कमला नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका तीनै जना बालकको मृत्यु भएको पुष्टि भएको छ।
कार्तिक शुक्ल पूर्णिमाको मेला हेर्न गएका वेला नदीमा नुहाउने क्रममा मिर्चैया नगरपालिका– ५ का विन्देश्वर मण्डलका छोरा रोशनकुमार मण्डल (१६), सोही वडाका रामनाथ साहका छोरा लक्ष्मण साह (१५) र सिराहा नगरपालिका– १५, बुधौराका अभिषेक यादव (१४) वेपत्ता भएका थिए।
ती मध्ये रोशनको शव सोही दिन पानीमा तैरिरहेको अवस्थामा उत्तरबाहिनी क्षेत्रमा भेटिएको थियो। अन्य दुई बालकको खोजिका लागि महोत्तरीको बर्दीबासस्थित सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीबाट गोताखोरको टोली परिचालन गरिएको थियो।
तर, दुवै बालकको शव आईतवार परिवार र आफन्तले फेला पारेका छन। लक्ष्मणको शव बिहान करवि १० बजे कर्जन्हा– १ उत्तरबाहिनी क्षेत्रबाट र अभिषेकको शव हुलाकी सडकको कमला पुलदेखि करिब ५ सय मिटर दक्षिण पानीमा तैरिरहेको अवस्थामा फेला परेको छ।
दुवै बालकको खोजिका लागि आईतबार परिवार र आफन्तले ६–६ जनाको टोली बनाएका थिए। पूर्व–पश्चिम किनार हुँदै दक्षिणतर्फ खोजी गर्ने क्रममा कमला पुलको करिब ५ सय मिटर दक्षिणपट्टि शव भेटिएको सिराहा प्रहरीका डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए। बसबिट्टा र उत्तरबाहिनी दुवै ठाउँमा शव भेटिएको उनले वताए।