मिर्गौला मागेर बाँच्न खोजेका छोरालाई बुबाले नै दिए मृत्यु, छोराको हत्या आरोपमा दीपबहादुर पक्राउ

काठमाडौँ– अछामको कमलनगर नगरपालिका–६, हात्तिबाचका ३१ वर्षीय नरेन्द्रबहादुर शाही १ वर्षअघिसम्म पत्निसहित भारतको मुम्बईमा बस्दै आएका थिए। त्यसैक्रममा उनको स्वास्थ्यमा समस्या देखियो। अस्पतालमा चेकजाँच गराउँदा मिर्गौलामा समस्या देखियो।

त्यसपछि उनी औषधी उपचार गर्न नेपाल फर्किेए। भक्तपुरको दूधपाटीस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा जाँच गराउँदा दुबै मिर्गौला फेल भएको पत्ता लाग्यो। मिर्गौला प्रत्यारोपण गर्नुको विकल्प नभएपछि उनले श्रीमतीलाई पनि नेपाल बोलाए। गाह्रोसाह्रो पर्दा सहज हुने भन्दै अस्पताल नजिक पर्ने गरी भक्तपुर नगरपालिका–२ शहिद खेल मैदान नजिकै कोठा भाडामा लिएर बस्न थाले।

उनले बुबा ६३ वर्षीय दीपबहादुरसँग मिर्गौलाका लागि कुरा राखे। दीपबहादुर मिर्गौला दिन तयार भए। जाँच गर्दा बुबाको मिर्गौला प्रत्यारोपण गर्न मिल्ने देखियो। त्यसपछि अछाममा भएकी आमा, सालो र साँढुदाईलाई पनि कोठामा बोलाए।

तर, मिर्गौला प्रत्यारोपणको तयारी हुँदै गर्दा दीपबहादुर त्यसका लागि तयार भएनन्। उनकै आनाकानीका कारण मिर्गौला प्रत्यारोपणका लागि डाक्टरले दिएको समय समेत सार्नु पर्यो। उनले बुबालाई फकाउन अनेक प्रयत्न गरे। तर, पार नलागेपछि विवाद सुरु भयो।

विवाद समान्य थिएन। सोही विवादका कारण नरेन्द्रको ज्यानै गयो। मिर्गौला दिएर छोरा बचाउन तयार भएका दीपबहादुरले पीठ देखाई दिँदा सुरु भएको झगडामा नरेन्द्रको ज्यानै गयो। दीपवहादुर प्रहरी हिरासतमा छन्। दीपबहादुरलाई छोराको हत्या आरोपमा पक्राउ परेका हुन।

प्रहरीका अनुसार बुबाछोराबीच विवाद चलिरहेकै थियो। २ पुसको राति करिव सवा १० बजे फेरी दुई जनाबीच झगडा पर्यो। केहीबेर भनाभन चलेपछि खाना खाँदै गरेका नरेन्द्रमाथि दीपले एक्कासी चक्कु प्रहार गरे। चक्कु नरेन्द्रको पेटमा लाग्यो। कोठामै भएका साला र साढुभाईले नरेन्द्रलाई भक्तपुर अस्पताल पु¥याए। तर, करिव पौने ११ बजेतिर उपचारको क्रममा उनको मृत्यु भयो।

नरेन्द्रलाई प्रहार गरिएको चक्कु भाँचिएको अवस्थामा प्रहरीले बरामद गरेको छ। अनुसन्धानका क्रममा बाबु दीपबहादुर शाहीले नै नरेन्द्रको हत्या गरेको खुलेको भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले बताएका छन्।

मिर्गौला प्रत्यारोपण सम्वन्धि विवाद नै हत्याको कारण देखिएको उनले वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट