लेखापढी ब्यवसायीको आवेदनका नाममा सप्तरी बारको अवैध असुलीः ११० रुपैयाँ दुस्तुर तोकेर ५ हजारवढि उठाईँदै

राजविराज— सप्तरीमा लेखापढी व्यवसायीको आवेदन फारमका नाममा जिल्ला अदालत बार एसोसिएसनका पदाधिकारीले गैरकानुनी असुली धन्दा चलाएको खुलेको छ।

लेखापढी व्यवसायीका लागि आवेदन दस्तुर ११० रुपैयाँ तोकिए पनि एसोसिएसनका पदाधिकारीहरुले जिल्ला अदालत परिसरमै प्रतिब्यक्ति ५ हजारभन्दा वढि रकम असुल गरिरहेको खुलेको हो।

बार एसोसिएसनकी कोषाध्यक्ष निलमकुमारी यादवले आवेदनका लागि ५ हजार ११० रुपैयाँ लाग्ने र पैसा तिर्न नसके तत्कालै निस्किएर जान भन्दै आवेदकलाई दुर्व्यवहार गरिरहेको भीडीओ नै लिक भएपछि अवैध असुलीको खुलासा भएको हो।

लिक भएको भीडीओमा यादवले अदालत परिसरमै रहेको बारको हलमा बसेर ‘आवेदन भर्नुछ भने ५ हजार ११० रुपैयाँ तिर्नुपर्छ। चित्त बुझ्दैन भन्ने यहाँबाट गइहाल्नू’ भनेको सुनिन्छ। उनले त्यसो भनेपछि कतिपय आवेदकले उनीसँग ५ हजार ११० रुपैयाँको रसिद मागेका छन्। तर, उनले रसिद नदिने बताएकी छिन्।

जिल्ला अदालतले गत २४ वैशाखमा लेखापढी व्यवसायीका लागि आवेदन आह्वान गरेको थियो। जसका लागि अदालतका नायब सुब्बा ललनकुमार कर्णलाई सम्पर्क व्यक्ति तोकिएका छन। तर, उनले आवेदकलाई फारम नदिएर बार एसोसिएसन मार्फत फारम पाईने ब्यवस्था गरेका छन्।

बारले कोषाध्यक्ष यादवलाई आवेदन वितरणको जिम्मा दिएपछि सर्वसाधारणलाई परिवन्धमा पारेर असुली धन्दा चलाईएको हो। बारका अध्यक्ष कामेश्वर यादवले पैसा उठाएको स्वीकार गर्दै व्यवहारिक रुपमा आवेदन दस्तुर कम भएकाले आवेदनदेखि परिक्षा र नतिजापछि प्रमाण पत्र वितरणसम्मको खर्चका लागि त्यति रकम उठाईएको बताए।

तर, अदालतका स्रेस्तेदार कृष्णप्रसाद अधिकारीले भने कानुनी दस्तुर ११० रुपैयाँ मात्रै रहेको दाबी गर्छन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट