नयाँबानेश्वरमा प्रहरीको गोली लागेर पत्रकार घाइते, संसद भवनभित्र ढुङ्गा हानाहान

काठमाडौँ– राजधानीको नयाँबानेश्वरमा जेनजी आन्दोलन चर्किँदै जाँदा प्रहरीको गोली लागेर पत्रकार घाइते भएका छन्। कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ प्रदर्शनको दृश्य खिचिरहेका बेला प्रहरीले चलाएको गोली पाखुरामा लाग्दा घाइते भएका हुन्।
अहिले उनर्को सिभिल अस्पतालमा उपचार भइरहेको छ। कान्तिपुर टेलिभिजनका नायव समाचार प्रमुख रुपेश श्रेष्ठका अनुसार, भिड नियन्त्रण गर्ने क्रममा प्रहरीले भीडतर्फ गोली चलाउँदा श्याम श्रेष्ठ घाइते भएका हुन्। ‘दृश्य खिचिरहेका बेला उनलाई पाखुरामा गोली लागेको हो,’ उनले भने।
जेनजी आन्दोलन सोमबार बिहान माइतीघर मण्डलाबाट सुरु भएर बानेश्वरतर्फ बढेको थियो। प्रदर्शनकारीको भिड अनियन्त्रित बन्दै गएपछि उनीहरू संसद भवनभित्रै प्रवेश गर्न सफल भए। प्रदर्शनकारीहरूले संसद परिसरमा ढुंगामुढा गरेका थिए भने सुरक्षा पोष्टमा पुगेर नेपालको झण्डा समेत फहराएका थिए।
सुरक्षा निकायले प्रदर्शन नियन्त्रणमा लिन अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको थियो। तर आन्दोलनकारी रोकिएका छैनन्। त्यसपछि प्रहरीले घुँडामुनि लक्षित गर्दै रबरको गोली चलाएको हो। सोही क्रममा पत्रकार श्रेष्ठ पनि घाइते भएका हुन्।
संसद भवनभित्रै प्रदर्शनकारी छिरेपछि तोडफोड र झडपका घटना बढे। स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कफ्र्यू आदेश जारी गरिसकेको छ। आदेश जारी भए पनि प्रदर्शन भने रोकिएको छैन।
नयाँबानेश्वर क्षेत्र अहिले पनि तनावग्रस्त बनेको छ। प्रदर्शनकारी सडकमा जुलुस जारी राखेका छन् भने सुरक्षाकर्मीले बल प्रयोग गर्दै भिडलाई तितरबितर पार्ने प्रयास गरिरहेका छन्।