जनआक्रोशको आगोः देउवा–आरजु राणा र रमेश लेखकका घर र स्कुलसम्म जले

काठमाडौँ– देशभर जेनजी आन्दोलन चर्किँदै जाँदा मंगलवार राति राजधानीदेखि सुदूरपश्चिमसम्म आक्रोशको ज्वालामा उच्च नेताका घर र संस्थाहरू पनि निसाना बनेका छन्।

कैलालीको धनगढीस्थित परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। धनगढी उपमहानगरपालिका–४ बसपार्क पछाडि पुनःनिर्माण भइरहेको घरमा भीडले ढुंगामुढा गर्दै प्रवेश गरी आगो लगाइदिएको प्रहरीले जनाएको छ।

आरजु राणाको लगानी रहेको ललितपुरस्थित युलेन्स स्कुल पनि आन्दोलनकारीको निसानामा पर्यो। स्कुलमा आगजनी हुँदा भवनसँगै पार्किङमा राखिएका दर्जनौँ गाडी जलेर खरानी बनेका छन्।

यसैबीच, राजधानी काठमाडौंमा पनि ठूलो आक्रमण भयो। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्। मुख्य गेट तोड्दै घरभित्र प्रवेश गरेका आन्दोलनकारीले घरमै आगो लगाइदिए।

देउवाको घरबाट कालो धुवाँको मुस्लो उडिरहेको देखिएको छ। हाल देउवा कहाँ छन् भन्ने खुलेको छैन। त्यसैगरी, काठमाडौंको नैकापस्थित कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको घरमा पनि भीडले तोडफोड गर्दै आगजनी गरेको छ।

सरकारको दमन र भ्रष्टाचारविरुद्ध चर्किएको आन्दोलन अहिले शीर्ष नेताका घर–परिवार र लगानीसम्म फैलिँदा राजधानीदेखि सुदूरपश्चिमसम्मै त्रास र आक्रोश दुवै वातावरण बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट