ओलीको किल्लामा बालेनको प्रवेशः स्वेच्छाको चुनौती कि योजनाबद्ध ‘बलिदान’?, यस्तो छ जित–हारको अवस्था

दमक– झापा–५ को प्रतिनिधिसभा चुनाव यसपटक सामान्य प्रतिस्पर्धा होइन। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) उत्रिनु आफैंमा राजनीतिक विस्फोट हो। तर यही विस्फोटभित्र गम्भीर प्रश्न पनि लुकेको छ—बालेन स्वेच्छाले झापा पुग्दैछन् कि उनलाई योजनाबद्ध रूपमा ओलीकै क्षेत्रमा धकेलिँदैछ?

स्थानीय राजनीतिक वृत्तमा बालेनलाई ‘ओलीलाई हराउने अस्त्र’ का रूपमा प्रयोग गर्न खोजिएको चर्चा चर्को छ। कतिपयले त काठमाडौँमा स्थापित छविलाई जोखिममा पारेर झापा–५ मा उत्रिनु बालेनका लागि राजनीतिक आत्मघाती कदम हुन सक्ने चेतावनीसमेत दिइरहेका छन्।

२०७९ को निर्वाचनले झापा–५ को यथार्थ चित्र प्रस्टै देखाएको छ। ओलीले ५२ हजार ३१९ मत ल्याएर सहज जित निकालेका थिए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारी २३ हजार ७४३ मतमै सीमित भए। ओलीविरुद्ध खसेका सबै मत जोड्दा पनि उनी ११ हजार ८४८ मतले अगाडि थिए। विपक्षी कित्ताबाट कुल ४० हजार ४७१ मत खसेको थियो, जुन संख्या आफैंमा ठूलो देखिए पनि ओलीलाई हराउन पर्याप्त थिएन।

अब यही क्षेत्रमा बालेन उत्रँदैछन्। तर २०७९ मा यही क्षेत्रमा रास्वपाका उम्मेदवार शुरेस पोखरेलले जम्मा ११ हजार ७५९ मत मात्रै पाएका थिए। त्यसैले प्रश्न उठ्छ—यो कमजोर आधारमा बालेनले ओलीको किल्ला भत्काउन सक्छन?

झापा–५ को इतिहासले पनि बालेनका लागि सहज संकेत गर्दैन। यहाँ आजसम्म गैर–कम्युनिस्ट शक्तिले जित हासिल गरेको रेकर्ड छैन। एकपटक माओवादीले जिते पनि त्यसपछि ओलीले निरन्तर आकर्षक मतसहित विजय दोहो¥याउँदै आएका छन्। यो क्षेत्र वैचारिक रूपमा ‘लेफ्टिस्ट’ मात्र होइन, यहाँका मतदाता सचेत, बौद्धिक र छलकपटबाट सजिलै प्रभावित नहुने मानिन्छन। भावनात्मक नाराले एकछिन ध्यान तान्न सकिएला, तर जित दिलाउने अवस्था छैन।

जातीय संरचनाले पनि बालेनलाई सहज बनाउँदैन। यहाँ जनजाति मत उल्लेख्य छ। त्यो मत बालेनतर्फ स्वाभाविक रूपमा जाने देखिँदैन। धरानका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीजस्ता विकल्पतर्फ जान सक्ने सम्भावना बढी छ। श्रम संस्कृति पार्टीले सहमहासचिव समिर तामाङलाई उम्मेदवार घोषणा गरेको मात्रै छैन, ओली र बालेन दुवैलाई हराउने दावी समेत गर्दै आएको छ।

राजवंशी, सतारलगायत आदिवासी मत परम्परागत रूपमा जसपा, जनमतजस्ता दलतर्फ केन्द्रित रहँदै आएको छ। बालेनले त्यो मत तान्न सक्छन् भन्ने आँकलन भए पनि त्यसका लागि ठोस आधार देखिँदैन।

यस वाहेक, झापा–५ मा करिब १० देखि १२ हजार ‘स्विङ भोट’ रहेको अनुमान छ। यही मत बालेनले प्रभावित बनाउन सक्छन्। तर समस्या यहाँ पनि छ— बालेन वा उनको पार्टी रास्वपाले त्यो स्विङ भोट तान्ने स्पष्ट एजेन्डा देखाउन सकेका छैनन्। राष्ट्रिय स्तरको नीति, दीर्घकालीन दृष्टि र ठोस कार्यक्रमको अभावले ‘बालेनलाई किन भोट दिने?’ भन्ने प्रश्न अझै अनुत्तरित छ।

‘बालेन प्रधानमन्त्री बन्छन्’ भन्ने भावनात्मक हल्लाले झापा–५ का मतदाता बहकिने सम्भावना न्यून छ। यहाँका मतदाताको प्राथमिक लक्ष्य ‘बालेनलाई प्रधानमन्त्री बनाउनु’ होइन। उनीहरू सोध्छन—बालेन प्रधानमन्त्री भए देशले के पाउँछ? नागरिकले के पाउँछन? भ्रष्टाचार निर्मूल गर्ने आदर्श वाक्य धेरै सुनियो, तर कसरी? योजना कहाँ छ? जवाफ न बालेनसँग छ, न रास्वपासँग।

उल्टो, सहकारी ठगी प्रकरणमा पक्राउ परेका, जेल बसेका, सुरुमा ‘मलाई थाहा थिएन’ भन्दै राजनीतिक प्रतिसोधको नारा लगाई पछि अपराध स्वीकारेर बिगो तिरेर छुटेका र अहिले आएर ‘मैले सहकारी मात्रै ठगेको हुँ’ भन्ने आसयमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ताका लागि हारगुहार गर्ने रवि लामिछानेलाई सभापति मानेर अघि बढेको पार्टीसँग बालेनको ‘आदर्श राजनीति’ बेचिने अवस्था कमजोर देखिन्छ।

यसबीच कांग्रेसभित्र गगन थापा उदाएका छन्। युवापुस्तामा गगनको क्रेज बालेन र रविकै हाराहारीमा छ। कांग्रेस विभाजनपछि गगनको चर्चा झन् बढेको छ। यही कारण स्विङ भोट कांग्रेसतर्फ, अर्थात् गगन लाइनतर्फ जान सक्ने सम्भावना पनि बलियो छ। त्यो मत बालेनसम्म नपुग्न सक्छ।

अहिलेसम्म झापा–५ मा कांग्रेसले प्रभावशाली उम्मेदवार नउठाएको आरोप लाग्दै आएको छ। कतिपयले यसलाई ओलीलाई अप्रत्यक्ष सहयोग गरेको व्याख्या गर्छन्। यसपटक गगन समूहले कमजोर उम्मेदवार उठाएर समानुपातिक भोट जोगाउने र प्रत्यक्षमा बालेनलाई जान दिने रणनीति अपनाउन सक्छ भन्ने अड्कलबाजी पनि छ। तर यो रणनीति कति सफल हुन्छ, अझै प्रश्न नै छ।

एमाले संगठनात्मक रूपमा झापा–५ मा बलियो छ। टोल–टोलमा समिति, जनवर्गीय संगठन र सुदृढ संरचना छन्। रास्वपामा त्यो क्षमता छैन। तर बालेनको आगमनले एमालेभित्रै असजिलो बढाएको पक्का देखिन्छ। एमालेजनहरु आत्तिएका जस्ता देखिन्छन। बालेनले यस्को फाईदा उठाउन सक्छन्।

ओलीविरुद्ध असन्तुष्ट एमाले मतदाताले विद्रोह गर्न सक्छन् भन्ने डर एमाले पंक्तिमा छ। ‘अब ओली सदनमा नजाऊन्’ भन्ने चाहना राख्ने एमालेभित्रकै मत बालेनतर्फ जान सक्ने सम्भावना नकार्न सकिँदैन। तर त्यो सम्भावनालाई वास्तविक मतमा रूपान्तरण गर्ने आधार फेरी बालेनमा देखिएको छैन।

त्यसका लागि आफनो स्पष्ट योजना त आवश्यक छनै, उनले मदन भण्डारीका भाइजस्ता पात्रलाई आफनो पक्षमा पार्न सक्नु पर्छ। त्यसमाथि भोट खरिद–बिक्री रोक्ने साहस र संगठनात्मक क्षमता पनि देखाउनुपर्छ।

यहीँ आएर अर्को कमजोरी देखिन्छ—कुलमान घिसिङको अनुपस्थिति। कुलमान सक्रिय भएको भए आदिवासी, जनजाति, दलित समुदाय रास्वपा र बालेनतर्फ आकर्षित हुने आधार बलियो हुन्थ्यो। तर उनलाई टिक्न नदिइएकोले बालेनको झापा अभियान कमजोर बनेको राजनीतिक विश्लेषक तथा झापाका मतदाता पुण्यप्रसाद प्रसाईंको आकलन छ।

समग्रमा झापा–५ मा बालेनको उम्मेदवारी साहसीभन्दा बढी जोखिमपूर्ण देखिन्छ। ओलीलाई चुनौती दिनु आफैंमा ठूलो कुरा हो। तर स्पष्ट एजेन्डा, बलियो संगठन र विश्वसनीय राजनीतिक चरित्रबिना यो चुनौती ‘स्टन्ट’ मा सीमित हुने खतरा छ। झापा–५ ले भावनामा होइन, ठोस उत्तर खोज्छ। त्यो उत्तर बालेनसँग छ कि छैन, फागुन २१ ले फैसला गर्नेछ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट