ओलीले ५० वर्षअघिको फोटो सार्वजनिक गर्दै भने– ति भोगाइहरु फिल्मको रीलजस्तो याद आइरहन्छ

राजविराज– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु ठिटो हुँदाको एउटा फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै १४ वर्षे जेल जीवनको स्मरण गरेका छन्।

मंगलबार साँझ फेसबुकमा ओलीले ५० वर्ष अघिको आफ्नो तस्बिर सार्वजनिक गरेका छन्। ओलीले वि.सं.२०३० साल असोज २३ गते साथी केआर खम्बुसँग खिचिएको आफ्नो तस्बिर सार्वजनिक गरेका हुन्।

जुन तस्बिर ओली पञ्चायती व्यववस्थामा गिरफ्तार गर्नुअघि खिचिएको थियो। त्यतिबेला उनी २१ वर्षका युवक थिए।

‘आधा शताब्दी नै भएछ। आज भन्दा ५० वर्ष अगाडी, २०३० साल असोज २३ गते साँझ ६ बजे रौतहटको इनरबारीबाट कोपुवा जाँदैगर्दा गन्तव्यमा पुग्नु केही मिनेट अगाडी म गिरफ्तारीमा परेको थिएँ,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसै क्षणपछिको १४ वर्ष मेरा लागि भयानक दुर्दिन सुरु भएका थिए।’

गिरफ्तारपछि आफूलाई चरम यातना दिइएको स्मरण पनि उनले गरेका छन्।

‘नेल– हत्कडी, गोलघरको चिसो छिंडी र बिरालोले छाउरा सारे झैं २५ पल्टको जेल सरुवा, अहिले एउटा रोमाञ्चक सम्झना मात्र बनेको छ,’ उनले अगाडि लेखेका छन्, ‘ती दिन, महिना र वर्षहरु, त्यो समय, त्यो प्रणाली र त्यसबेलाका पात्रहरु, भोगाइहरु फिल्मको रीलजस्तो याद आइरहन्छन्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट