चिसो थेग्न नसकेर एक सातामै ५ भुकम्प पीडितको मृत्यु

काठमाडौं– जाजरकोट भूकम्पपछि त्रिपालमा बस्दै आएका पाँच पीडितको चिसोका कारण मृत्यु भएको छ ।

जाजरकोटस्थित बारेकोट गाउँपालिका–४ जिरीका ७९ वर्षीय नरेन्द्रबहादुर सिंह, बारेकोट–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन, भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की, नलगाड नगरपालिका–४ लहास्थित च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको हो ।

पछिल्लो समय ज्यान गुमाएका तीन जना दमका बिरामी थिए । अत्यधिक चिसो थेग्न नसक्दा उनीहरूको मृत्यु भएको जनाईएको छ। भूकम्पपीडितहरू रुघाखोकी, ज्वरो, पखालालगायत स्वास्थ्य समस्याबाट पीडित भएका छन । दैनिक करिब डेढ सय बिरामी अस्पतालमा भर्ना हुने गरेको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए ।

चिसोका कारण फोक्सो र मुटुका बिरामीलाई बढी समस्या देखिएको छ। भूकम्पका कारण घरभित्रै औषधि पुरिएपछि कतिपय दीर्घरोगीले औषधिलाई निरन्तरता दिन सकेका छैनन्।

भुकम्पले सबैभन्दा बढी क्षति पुगेको नलगाडमा चिसोले अधिकांश भूकम्पपीडितमा विभिन्न स्वास्थ्य समस्या देखिरहेको नगर प्रमुख डम्बरबहादुर रावतले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकअनुसार अहिलेसम्म जिल्लाका विभिन्न स्थानीय तहमा २ सय पूर्णसहित १ हजार ९० घरमा क्षति भएको छ । दार्मा गाउँपालिकामा मात्र ९ सय बढीका घर बस्नै नमिल्ने गरी भत्किएका छन । जसका कारण दार्मामा मात्र २ हजार ४ सय विस्थापित भएका छन । विस्थापित भएका सबै त्रिपाल टाँगेर बस्न बाध्य छन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट