को हुन विश्वका प्रभावशाली १०० महिलाको सूचीमा परेकी नेपालकी रुक्शाना ?

काठमाडौं– बीबीसीले सन् २०२३ का विश्वका प्रभावशाली १०० महिलाको सूची सार्वजनिक गर्दा नेपालकी एक किशोरीको नाम पनि समेटिएको छ।
सूचिमा नेपालकी ‘पारलिंगी महिला’ (ट्रान्सजेन्डर वुमन) रुक्शाना कपालीको नाम समेटिएको हो। ट्रान्सजेन्डर मानवअधिकार कार्यकर्ता रुक्शाना नेपालमा एलजीबीटीक्यू समुदायको कानुनी तथा संवैधानिक अधिकारको क्षेत्रमा सक्रिय रहेकी छिन्।
यही कारणले उनलाई प्रभावशाली महिलाको सूचीमा राखिएको बीबीसीले स्पष्ट पारेको छ । उनको एसएलसीको सर्टिफिकेटमा ‘पुरुष’ लेखिएको थियो। तर आफूले बुझ्ने भएपछि पारलैंगिक महिला हुँ भन्ने महसुस गरेको तर प्रमाणपत्र सच्याउन सास्ती पाएपछि उनी आफू जस्तै अन्यको अधिकारका लागि पनि लड्न थालेकी हुन् ।
उनी अहिले पूर्वाञ्चल विश्वविद्यालयमा रहेर कानुन विषय पढ्दै छिन्। अहिले तेस्रो वर्षकी विद्यार्थी उनले गत वर्ष आफूले भोगेको दुःखले आफूलाई कानुन पढ्न प्रेरणा मिलेको बताएकी थिइन् ।
यसअघि बीबीसीले सन् २०२० मा प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगरलाई समावेश गरेको थियो । सपनाले बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी छिन् । म्याग्दीकी सपनाले अहिलेसम्म करिब ३ सयभन्दा बढि बेवारिसे शवको व्यवस्थापन गरिसकेकी छिन् ।